लक्ष्मी उप्रेती,
झापा । प्रहरी र अन्य निकायको सक्रियताका कारण पछिल्लो समय काठको अवैध कारोवार कम हुँदै गएको छ ।

केही वर्ष अघिसम्म झापा जिल्लाका विभिन्न क्षेत्रमा काठको अवैध तस्करी बढेको थियो ।सुरक्षा निकायको उपस्थिति र सक्रियता कम रहेको क्षेत्रमा अवैध धन्दा मौलाउने गरेकोमा अघिल्ला दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷०८१ मा अवैध धन्दा घटेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लामा पछिल्लो समय काठको अवैध कारोवार बढेपछि प्रहरी गोप्यरुपमा परिचालन भएको छ ।

प्रहरीले गत आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा जिल्लाका अलग–अलग स्थानबाट ६ सय ९१ क्युविक फिट अवैध काठ बरामद गरेको छ । यसवापत ४० लाख ४५ हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ । त्यसमा प्रयोग भएका सातवटा सवारीसाधन र संलग्न नौजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुन परिमाण यसअघिको आर्थिक वर्ष २०७९÷०८० को तुलनामा निकै कम हो । त्यो वर्ष प्रहरीले ९७ लाख ९४ हजार आठ सय दश रुपैयाँ मूल्य बराबरको दुई हजार चारसय ७२ क्युविक फिट काठ बरामद गरेको थियो । त्यसमा संलग्न १७ जना मानिस र २९ वटा सवारीसाधनसमेत त्यो अवधिमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले ४० लाख ५७ हजार पाँचसय ३६ रुपैयाँँ मूल्य बराबरको एक हजार दुईसय ६८ क्युविक फिट काठ बरामद गरेको थियो । १२ जना मानिस र १३ वटा सवारीसाधन त्यस वर्ष प्रहरीले नियन्त्रणमा लिएको थियो । राति र विहानको समयमा काठ तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि प्रहरी टोली खटाएर काठ पक्राउ गरिएको कार्यालयको भनाई छ । इलामका वनजंगलबाट अवैध रूपमा काटिने चिरान वा गोलिया झापातिर तस्करी हुने गरेको वन अधिकारीहरुको भनाई छ । झापासँग सिमाना जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याइएको अवैध काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयका कर्मचारीले बरामद गर्ने गरेका छन् ।

प्रहरीले सवैभन्दा बढी असोज महिनामा २ सय २२ क्युविक फिट काठ , त्यसमा प्रयोग भएको दुईवटा सवारीसाधन र संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । त्यसवापत १३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौंमा ३४ क्युविक फिट काठ बरामद हुँदा त्यसवापत १० लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयको अभिलेखले देखाएको छ । भदौंमा अबैधरुपमा काठको काम गर्ने १ जना पुरुष र एउटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रावण महिनामा २ सय १९ क्युविक फिट काठ, २ वटा सवारीसाधन र ४ जना मानिस पक्राउ परेका थिए । बरामद काठबाट ७ लाख ७६ हजार ८० रुपैयाँ राजस्व जम्मा भएको थियो । मंसिरमा ९४ क्युविक फिट काठ ,२ वटा सवारीसाधन र २ जना मानिस पक्राउ पर्दा २ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको छ ।

पुष महिनामा १५ क्युविक फिट काठ बरामद हुँदा ३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने चैत महिनामा ३४ क्युविक फिट काठ नियन्त्रणमा लिँदा १ लाख २७ हजार तथा बैशाख महिनामा ७३ क्युविक फिट काठ, एउटा सवारीसाधन बरामद हुँदा २ लाख १९ हजार ४ सय २० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जेठ र असार महिनामा झापाबाट काठको अवैध धन्दा शून्य छ ।

प्रहरीले बरामद सबै काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय झापामा पठाउने गरेको छ । जिल्लामा बेला–बेला काठ तस्करी र अवैध ओसार–पसारका घटनाहरू सार्वजनिक हुँदै आएका छन् । इलाम र झापा खुल्ला सिमाना भएको क्षेत्र भएकाले काठ तस्करी हुँदै आएको प्रहरीको भनाई छ । केही वर्ष अघिमात्र सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ठूलो परिमाणमा साल जातको गोलिया काठ बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्