उर्लाबारी, साउन १५ । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।

वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय छेउको घरमा छुरा प्रहार भएको हो ।

वडाध्यक्ष रविन लामाका अनुसार आज साँझ करिव ७ः२० बजे स्थानीय सुवास लामाले आफ्नै साथीलाई घरमा आएको बेला एक्कासि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट वडा नम्बर ४ आइतबारे निवासी कुशल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ। वडाध्यक्ष लामाले छुरा प्रहारबाट गम्भीर घाईते बनेका कुशललाई उपचारको लागि उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको बताए ।

गोदावरी अस्पतालमा उनको उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल ल्याइएको थियो। उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष लामाले जानकारी दिएका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाको पुष्टि गरेका छन् । बीएण्डसी अस्पतालले घाइते दाहालको उपचारको क्रममा राति ९ बजे मृत्यु भएको बताएको छ ।

आफ्नै घरमा आएका साथीलाई सुवासले किन छुरा प्रहार गरे भन्ने विषयमा केही खुल्न सकेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ । कुशलको कोखमा छुरा प्रहार भएको उनलाई उद्धार गर्ने स्थानीयले बताए ।छुरा प्रहार गरेर सुवास फरार छन् । उनलाई पक्राउ गर्न मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

छुरा प्रहार गर्ने लामा यसअघि कर्तव्य ज्यान मुद्दामा कारावास जीवन बिताएर केही समयअघि मात्र मुक्त भएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्