झापा , साउन १६ । सीमावर्ती झापा गाउँपालिकाबाट लागूऔषधसहित दमकका तीन युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.१० बजे झापा गाउँपालिका वडा न. १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प.८९७४ नम्वरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा न.१२ बस्ने २६ वर्षीय मनिश थापाले प्रहरीलाई देख्नासाथ कालो प्लाष्टिकको पोका भुइँमा फाली भाग्न खोजेका थिए ।

उनीसंगै रहेका दमककै २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लाष्टिकको पोका खोली हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्