झापा , साउन १६ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ ।

प्रहरी हिरासतमा दर्जीसंगै मृतक खड्का

बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको त्यही मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । खड्काको स्वास्थ्यमा असहज भई आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारको क्रममा १ः५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याई दिनु भनि दिई पठाएको खुलेको थियो । मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो । मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्