कार्यालय सहयोगी पक्राउ

मेचीनगर , साउन १६ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी रोशन मल्लिकलाई यो अपराधमा पक्राउ गरिएको हो । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल बिष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक पटक गरी चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा मल्लिकलाई काँकरभिट्टा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मल्लिक अहिले काँकरभिट्टा प्रहरी हिरासतमा छन् ।

पहिलो पटक २०८० चैत ७ गते ४० हजार रुपैयाँ प्रधानाध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर निकालेको खुलेको छ । त्यसपछि पछिल्लो पाँच महिनामा २०औँ पटकसम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको विद्यालयले जनाएको छ । मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाबाट चैत ७ देखि साउन ७ गतेसम्म २० पटक चेक काटेर पैसा निकालेको विद्यालयले जनाएको छ । विद्यालय स्रोतका अनुसार पाँच हजारदेखि बढीमा ४३ हजारसम्म किर्ते हस्ताक्षर गरी चेकबाट पैसा निकालेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्