उर्लाबारी, साउन १६ । आफ्नै घरमा आएका साथीको हत्या गरेर फरार रहेका उर्लाबारी ५ का सुवास लामालाई प्रहरीले घटनाको २४ घण्टा पछाडि पक्राउ गरेको छ।

मंगलबार साँझ मोरङको उर्लाबारीमा एक युवालाई छुरा प्रहार गरेर हत्या गरेपछि फरार रहेका उर्लाबारी–५ का सुवास लामा (तामाङ) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेर फरार रहेका लामालाई मोरङकै सुन्दरहरैचा नगरपालिका–४ दुलारीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले पुष्टि गरेका छन् । उनकै नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजे पक्राउ गरेको हो । पक्राउ परेका लामालाई इप्रका उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उर्लाबारी–५ मा मंगलबार साँझ ६ बजेतिर दाहालमाथि छुरा प्रहार भएको थियो ।

गम्भीर घाइते दाहाललाई उर्लाबारी–५ कै गोदावरी हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको दमकस्थित लाइफलाइन अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार संभव नभएपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उर्लाबारी प्रहरीका अनुसार उपचारका क्रममा डाक्टरले राति ९ बजेतिर मृत घोषित गरेका थिए । उनीमाथि उर्लाबारी–५ स्थित उद्योग वाणिज्य संघको कार्यालयनजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो । आपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएको खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्