झापा,साउन १७ । अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो वर्ष एक लाख २८ हजार ५६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले ६ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ ।

देशभरबाट तीन लाख बेर्ना बढी बिरुवाको माग आए पनि माग पु¥याउन नसकिएको केन्द्रका प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशको पश्चिमी जिल्लामा अलैँचीको बिरुवा पठाइएको छ । केन्द्रले रामसाही र गोलसाही जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको परियारले जनाएका छन् ।

अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न दश जिल्लामा ४० वटा अलैँचीको नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको केन्द्रका प्रमुख परियारले बताए । ‘इलामको फाकफोकथुम, गोर्खाको अजिरकोट गाउँपालिकामा तन्तु प्रजनन केन्द्रबाट उत्पादित बिरुवाको दोस्रो नर्सरी स्थापना गरिएको छ’ परियारले भने, ‘किसानको मागलाई सम्बोधन गर्न र कम खर्चमा बिरुवा उपलब्ध गराउन अन्य जिल्लामा नर्सरी स्थापना गर्ने काम हुँदै छ ।’

पछिल्लो समयमा अलैँचीको उच्च मूल्यमा कारोबार भएपछि किसानहरूले अहिले अलैँचीको बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अहिले ८५ हजार रुपियाँ प्रतिमनका दरले कारोबार भइरहेको अलैँची गएको आर्थिक वर्ष २०८०–८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।

‘कतिपय स्थानमा सुख्खा क्षेत्रमा पनि किसानले अलैँची रोप्ने गरेकाले सिँचाइ अभाव हुँदा रोगकिराको प्रभाव बढेको पाइएको छ’ केन्द्रका प्रमुख परियारले भने, ‘टिस्युकल्चरको बिरुवा रोप्न योग्य हुन्छ, डेढ दुईसय बिरुवा हामी आफैँले रोपेर गरिरहेका छौँ । यो प्रविधिको बिरुवामा रोग लाग्दैन भन्ने हो ।’

अहिले पनि ढुसी, डढुवा, फुर्के, छिर्कै, सिन्दुरेजस्ता रोकका कारण नयाँ बगान फेरि नष्ट भइरहेका छन् । किसानले कति उचाइमा कुन जातको बिरुवा लगाउँदा बाँच्न सक्छ भन्नेमा ध्यान दिनुपर्ने भएको छ ।

अलैँचीका लागि माटोको अम्लीयपना साढे चारदेखि साढे ६ सम्म हुनुपर्नेमा त्यो घटेर साढे तीनभन्दा कम हुने कारण पनि अलैँचीमा असर परेको परियारको भनाइ छ । जिल्लाका जिर्मले, सोयाङ, प्याङ, नामसालिङ, धुसेनी, माइमझुवा, माबुलगायतका गाउँमा अलैँची खेती हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्