झापा, साउन १७ । आफूले किनेको १४ कठ्ठा जग्गा सबै हराएपछि यतिबेला बिर्तामोड ४ का हरिप्रसाद उप्रेती निकै छटपटीमा छन् ।

उनी हल्दिवारी ३ मा रहेको आफ्नो जग्गा खोज्दै भौतारिरहेका छन् । न्यायालयबाट न्याय पाउन नसकेपछि उनी संचार जगतलाई गुहार्न पुगेका छन् । करिव दुई साताअघि बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत आफ्नो समस्या सुनाएका उप्रेतीले केही दिनअघि पत्रकारहरुलाई लगेर स्थलगत रुपमै आफ्नो हराएको जग्गा देखाए । हरिप्रसादकी पत्नी टिकादेवी उप्रेतीको नाममा रहेको हल्दिवारी ४ ख को कि.नं. ६०९ को ज.वि.०–१४–० हराएको हो । जुन जग्गा उप्रेती परिवारले जग्गादाता चित्रकुमार गुरुङबाट खरिद गरेका थिए । उप्रेतीको सबै जग्गा हुलाकी मार्गले खाइदिएको भन्दै अदालतले फैसला गरेपनि उनी त्यसमा चित्त बुझाउन तयार छैनन् ।

‘मेरो सबै १४ कठ्ठा जग्गा कसरी हराउँछ ’ चेतनाथ आचार्यले भोग गरिरहेको जग्गा देखाउँदै उनले भने,‘मेरो जग्गा यही पर्छ ।’हुलाकी मार्गदेखि उत्तरपट्टि र भुसुडी पुलदेखि पश्चिमपट्टि आफ्नो जग्गा रहेको उनले दावी गरे । जग्गा हेर्न जाँदा आफ्नो जग्गा सबै बाटोमा गयो भनेर छिमेकीहरुले भनेपछि आफू कानूनी बाटोमा गएको उनी बताउँछन् ।अदालतको आदेशमा जग्गाको नापजाँच गर्न पठाएको नापी कार्यालयका कर्मचारीले जग्गा रहेको नक्सासहितको प्रतिवेदन तयार गरेकोमा पछि नापी कार्यालयको अघिल्लो प्रतिवेदन बनाउने तिनै कर्मचारीहरुले नै आफूलाई थाहै नदिई सबै जग्गा हुलाकी मार्गमा परेको भन्दै पुनः अर्को प्रतिवेदन बनाएर अदालतमा पेश गरेको उनको आरोप छ ।

गत जेठ २८ गतेको अदालतको फैसला आफ्नो पक्षमा नभएको असार ४ गते थाहा पाएपछि आफू अन्यायमा परेको जग्गाधनी टिकादेवीका छोरा युवराज उप्रेतीको भनाइ छ । यसैबीच जग्गादाता हरिप्रसाद उप्रेती र जग्गा बिक्री गर्ने भद्रपुर नगरपालिका वडा नं. ७ निवासी नरेन्द्रकुमार गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी झुट्ठा व्यहोराको प्रतिवेदन बनाई नापी कार्यालयमा भएको नक्साको अलग अभिप्रायले स्केच नक्साङ्कन गरी अदालतलाई समेत गुमराहमा पार्ने बद्नियतको प्रतिवेदन तयार गरी पेश गर्दा आफूहरु अन्यायमा परेको बताएका छन् । ‘सम्मानित अदालतबाट भएको नापजाँचले २०७८ साल चैत्र २६ गते छर्लङ्ग देखिएको तथ्यगत प्रमाण मुचुल्का एवं नक्सा कुण्डलीको विपरित हुनेगरी कि.नं. ६०९ (हालको कि.नं. ३२४७, ३२४८) को जग्गामा हुलाकी राजमार्ग पर्दछ भन्ने झुट्ठा व्यहोराको प्रतिवेदन बनाई नापी कार्यालयमा भएको नक्साको अलग अभिप्रायले स्केच नक्साङ्कन गरी अदालतलाई समेत गुमराह (अलमल) मा पार्ने बद्नियतको प्रतिवेदन तयार गरी प्रमाण बनाई अनुचित कार्य गरेको हुँदा ज्यादै अन्यायमा परेका छौं ’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले वास्तविक सत्य तथ्य प्रकाशमा ल्याइ दोषीलाई सख्त कारवाहीको लागि सम्बद्ध सरकारी निकायसमक्ष माग गरेका छन् । उता नापी कार्यालय भद्रपुरका नापी अधिकृत रुपेश श्रेष्ठले अदालतको सर्भेक्षकसहितले प्रतिवेदन तयार गरेको बताए । उनले नापी कार्यालयले कुनै पनि गलत कार्य नगरेको भन्दै न्यायका लागि उप्रेती परिवारले उपल्लो निकायसमक्ष जान सक्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्