झापा, साउन १८ । इलामको माई नगरपालिका २ गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडकखण्डमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

आज साँझ ५.३० बजे गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडकखण्डमा शुक्रबारेबाट सितलीतर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको बीचमा सवार माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष अन्दाजी २६ का दिनेश कार्कीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड ल्याइएकोमा साँझ ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष ३२ का बिनोद लिम्बूको टाउकोमा चोट, बाँया खुट्टा फ्याक्चर भएको, अवस्था गम्भीर र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष १६ का रोशन लिम्बूको बाँया हात र मुखमा चोट, अवस्था मध्यम रहेको छ । ती दुवै घाइतेको बिर्तासिटी हस्पिटलमै उपचार भइरहेको छ । ।मोटरसाइकल प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्