मेचीनगर, साउन १८ । स्तनपान कक्ष, खाजा घर, शौचालय, खानेपानीलगायतका मेचीनगरका सामुदायिक विद्यालयका साझा समस्या हुन् ।

शुक्रबार मेचीनगर नगरपालिकाको बैठक कक्षमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक, शिक्षिका तथा बालकक्षामा कार्यरत शिक्षिकाहरुबीच भएको छलफलमा सहभागीहरुले सामुदायिक विद्यालयका थुप्रै समस्याहरु राखेका थिए ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोख्रेल उप्रेती र शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीको उपस्थितिमा सम्पन्न छलफलमा अहिले बालकक्षामा कार्यरत शिक्षिकाहरुलाई फरक दृष्टिकोणले हेर्ने गरिएको गुनासो राखेका थिए । हरेक विद्यालयमा शिक्षक र विद्यार्थीहरुका लागि अलग अलग सुविधासम्पन्न शौचालय नहुँदा सवैभन्दा बढी समस्या बेहोर्नुपरेको गुनासो सहभागीहरुले राखेका थिए ।
विद्यालयमा व्यवस्थित शौचालय नहुनु थुप्रै विद्यालयका साझा समस्या रहेको छ । यसले गर्दा शिक्षिका र छात्राहरुलाई बढी समस्या हुने गरेको भनाई सहभागीहरुको थियो । सहभागीहरुले पछिल्लो समय लागूऔषधको समस्या निकै भोग्नुपरेको भन्दैं विद्यार्थीहरु लागूऔषध सेवन गरेर विद्यालय आउने गरेका कारण आफूहरु असुरक्षित हुनु परेको बताएका थिए ।आफूहरुलाई नेतृत्व र व्यक्तित्व विकासको तालिम चाहिएको समेत धारणा राखेका थिए ।

स्थानीय सरकारले बजेट विनियोजन गर्दा महिला प्रधानाध्यापक भएका विद्यालयलाई प्राथमिकतामा राखिदिन समेत सहभागीहरुले आग्रह गरेका थिए । विद्यालयहरुलाई अनुगमन गरेर मात्र टिनको छानोदेखि अन्य संरचना प्रदान गर्न समेत उनीहरुले सुझाएका थिए । कतिवटा विद्यालयका कर्मचारीहरुले महिला शिक्षकहरुलाई मतलव नै नगर्ने समेत गरेको गुनासो पोखेका थिए ।

‘थुप्रै विद्यालयहरुमा स्तनपान कक्षको व्यवस्था छैन ’ कविशिरोमणि मावि मेचीनगर — ९ की शिक्षिका निलु शर्माले भनिन् ,‘ आमा शिक्षिकाहरु आफ्ना बच्चाहरुलाई स्तनपान गराउन घरसम्म जानुपर्छ त्यसपछि विरोध हुन्छ विरोध गर्नेमा शिक्षकहरु हुनुहुन्छ ।’ तीन महिना सुत्केरी विदा दिएपनि त्यसपछि आफ्ना बच्चाहरु च्यापेर विद्यालय आउनुपर्ने अवस्था रहेको भन्दैं शर्माले हरेक विद्यालयमा व्यवस्थितरुपमा अलग्गै स्तनपान कक्षको व्यवस्था गर्न आग्रह गरिन् ।

बाल विकास आधारभूत विद्यालय मेचीनगर —१ की शिक्षिका फडिन्द्रा पौडेलले अहिले पनि थुप्रै विद्यालयको छानाले घाम र पानी नछेक्ने भएकाले बर्खाका बेला विद्यार्थीहरुको भागाभाग हुने अवस्था रहेको भन्दैं यसलाई सम्बोधन गरिदिन आग्रह गरिन् । विद्यालय भवनका झ्याल ढोका जीर्ण, पिउने पानीका धारादेखि थुप्रै सामग्री चोरी हुने गरेको , शौचालयका झ्याल ढोका फोड्ने समस्याबाट विद्यालयहरु गुज्रिरहेको उनको भनाई थियो ।

सहभागीहरुका समस्या सुनेपछि नगर उपप्रमुख उप्रेती, शिक्षा शाखा प्रमुख उपसचिव भण्डारीले हरेक समस्या सम्बोधन गर्न सकिने र कतिपय कुरा कार्यान्वयनमा रहेको बताएका थिए । भानु माविकी प्रधानाध्यापक खडगकुमारी तिम्सिना, दिपेन्द्र प्राविकी प्रधानाध्यापक शान्ता निरौला, ज्ञानदीप प्राविकी प्रधानाध्यापक अञ्जु पौडेललगायत विभिन्न विद्यालयका ३१ जना शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सरस्वती माविकी शिक्षिका नमूना निरौलाले छलफलको सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्