झापा,साउन १९ । इलामको पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरिएको आवास गृहको उद्घाटन गरिएको छ ।

कोशी प्रदेश सरकारको ३८ लाख ११ हजार पाँच सय ९० रुपियाँको लागतमा एक तले महिला प्रहरी आवास गृहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गरेका हन् ।

प्रदेश सरकारको लगानी तथा कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाको समन्वयमा ६५ बर्गमिटर क्षेत्रफल भएको आवास गृह, भान्सा घर र शौचालय निर्माण गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक खापुङले सेवा विस्तारसँगै जनमुखी भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले समयानुकूल आफू परिमार्जित भएर नागरिकलाई जनअपेक्षा अनुरूप काम गर्नुपर्ने बताए । उनले भने, ‘‘भौतिक पूर्वाधारमा अझै धेरै ठाउँमा समस्या छन् यस क्रमशः सुधार गर्दै लैजानु पर्दछ ।’’

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाल–भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयलाई थप व्यवस्थित बनाउनुपर्ने जिकिर गरे ।

कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले प्रहरीले नागरिकका समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भारतको पश्चिम बङ्गाल प्रहरी प्रमुख विवेक क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्