झापा, साउन १९ । झापामा लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एक महिला र पाँच पुरुष छन् ।

शुक्रवार साँझ ७ः३० बजे दमक नगरपालिका वडा न. ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमिला गुरुङ लागूऔषधसहित पक्राउ परेकी हुन् । उनले अवैध रुपमा लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघखोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै लागूऔषधसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. १० बस्ने २९ वर्षीय राजिव साह र सोही ठाउँ बस्ने २८ वर्षीय महमद अजिम रहेका छन् ।
शुक्रवार राति ९.५५ बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ मे १० प १३३८ नम्वरको मोटरसाइकलमा आउँदै गरेका चालक साह र पछाडी सवार अजिमलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ५ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै लागूऔषधसहित दमकमा दुईजना युवा पक्राउ परेका छन् । शनिवार दिउँसो १ बजे दमक नगरपालिका वडा नं.५ मा डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका वडा नं.३ वस्ने २६ वर्षीय अगम राईले लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी लिएको थियो । त्यसक्रममा बेच्नको लागि स–सानो पोका पारी राखेको प्लाष्टिकसहित ५ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जिल्ला कमल गाउँपालिका वडा नं.५ वस्ने ३६ वर्षीय जिवन लिम्वूले मागेको र उनलाई बिक्री वितरण गर्न पोका पारिराखेको बताएका थिए । लागूऔषध लिन आउने क्रममा लिम्बूलाई समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान जारी रहेको छ ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं.५ स्थित मेची पुलमा एकजना पक्राउ परेका छन् । शनिवार दिउँसो २.३० बजे भद्रपुर नगरपालिका वडा नं.५ स्थित अस्थाई प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री इलाम चुलाचुली गाउँपालिका वडा नं.३ बस्ने २८ वर्षीय विवेक राईलाई शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा प्लाष्टिकमा पोका पारी मुखभित्र राखी लुकाइ छिपाइ ल्याउँदै गरेको १ ग्राम ८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्