झापा,साउन १९ । सत्ताच्यूत भएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले जनतामाझ जाने जमर्को गरेको छ ।

प्रमुख प्रतिपक्षमा पुगेपछि संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा रहेको माओवादीले देशव्यापी रुपमा संगठन सुदृढीकरण र माओवादी नेतृत्वको सरकारले गरेको काम लिएर स्थानीय स्तरसम्म पुग्ने कार्यक्रम संचालन गरेको छ ।

यसैक्रममा जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष टाइसन केरुङसहित विभिन्न पार्टीका कार्यकर्तालाई माओवादीले आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

माओवादी केन्द्र प्रदेश कमिटीले शनिवार बिर्तामोडमा कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको छ । पार्टी प्रवेश गर्नेमा समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष केरुङसहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बू, सहसचिव दिपेन जबेगू, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्कीलगायत छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल)को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै टाइसन केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए ।

एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छविराज गहतराजले समावेशीता, संघीयता, धर्मनिरपेक्षतालगायतका मुद्दा माओवादी केन्द्रले उठाएको बताउँदै आफू माओवादी केन्द्रमा प्रवेश गरेको उल्लेख गरे । नेपाली कांग्रेस परित्याग गरी पार्टी प्रवेश गरेका रामभक्त योङयाले १९ वर्षपछि आफू आफ्नै घरमा फर्किएको बताए । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालको अवस्था आउने दावी गरे । माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने उनले उल्लेख गरे ।सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको भन्दै उनले पार्टी र नेतृत्व कमजोर नहुने दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको दावी गरे । प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उनले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको आरोप लगाए । कांग्रेस एमाले २०४७ को संविधान उल्टाउन लागेको बताउँदै उनले सडक र सदनबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले यो पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको दावी गरे । उनले टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बूलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिएको बताउँदै अन्य सबैलाई उचित जिम्मेवारी दिने बताए ।

प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरिकुमार राना, ,सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामीलगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्