झापा,साउन २१ । सरकारले राष्ट्रिय परिचयपत्र क्रमिक रूपमा अनिवार्य गर्ने लक्ष्य लिएपछि जिल्ला प्रशासन कार्यालय इलाममा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउनेको भिड बढ्न थालेको छ । सरकारले २०८१ साल माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि विशेष गरी सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धादेखि राहदानी बनाउनेको संख्या बढ्दै गएको हो । परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बिहान ९ बजेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गर्छ । वृद्धवृद्धाका लागि भने यो प्रक्रिया निकै झन्झटिलो भएको छ ।

बढ्दो भिडका बिच फोटो खिच्ने र विवरण भर्ने काममा पटक पटक कम्प्युटरको ‘सर्भर डाउन’ हुने समस्याले थप जटिलता उत्पन्न भएको जिल्ला प्रशासन कार्यालयस्थित फोटो खिच्न खटिएका कर्मचारीले बताएका छन् ।

समयमा काम नहुँदा बिहानदेखि लाइन बसेका ७० वर्षमाथिका वृद्धवृद्धालाई दिनभर कुर्नुपर्ने समस्या भएको फोटो खिच्न प्रशासन आइपुगेका सेवाग्राहीले बताएका छन् । आइतबार पनि बिहानदेखि लाइन बसेका सेवाग्राहीले कम्प्युटरको सर्भर डाउन हुँदा दिनभर जसो सेवा पाउन सकेनन् । “माथिकै समस्या हो । समयमा सेवा प्रवाह हुन सकेको छैन । हामी पनि पर्खिरहेका छौँ,” फोटो खिच्ने एक कर्मचारीले भने, “भिड यति धेरै छ, त्यसमा पनि वृद्धवृद्धालाई पर्खाउनु पर्दा हामीलाई पनि दुःख लाग्छ ।” फोटो खिचाउनेसहित परिचयपत्र आएकाको पनि परिचयपत्रलाई पुनः रुजु गराउनुपर्ने हुँदा सेवाग्राहीको भिड अझ बढेको बताइएको छ ।

परिचयपत्र बनाउनेको संख्या बढ्न थालेपछि कार्यालयले जिल्लाको सूर्योदय नगरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मङ्गलबारेमा पनि फोटो खिचाउने स्थानको व्यवस्थापन गर्न लागिरहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले बताए । उनले भने, “सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट रोङ र इलाका प्रशासन कार्यालय पशुपतिनगर आधार हुने गरी भदौबाट फोटो खिचाउने व्यवस्थापनका लागि विभागमा पहल गरेका छौँ । मङ्गलबारेमा पनि देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका लागि फोटो खिचाउने तयारी छ ।” उनले अन्य पालिकालाई पनि आफ्ना नागरिकको सहजताका लागि फोटो खिचाउन चाहिने सामग्री र जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

अहिले दैनिक एक सयभन्दा बढीले फोटो खिचाउने गरेको तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार अहिले प्रशासन कार्यालयमा ३५ हजारको संख्यामा राष्ट्रिय परिचयपत्र बाँड्न बाँकी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्