झापा,साउन २१ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्।

मन्त्री डा. राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिएकी हुन्।

बङ्गलादेशमा रहेका विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीजीले जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री डा. राणाले अधिकांश विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिएकी हुन्। ढाकास्थित नेपाली दूतावासले बङ्गलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

बङ्गलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका,हाल त्यहाँ करिब ४०० विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेको सूचनामार्फत जानकारी गराइएको छ। नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।

आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएकी छन् । राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश छोडेकी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्