झापा , साउन २२ । प्रधानमन्त्री शेख हसिना बेगम पलायन भएपछि अब बंगलादेशको सत्ता कसको हातमा जाने छ भनेर भारत चिन्तित देखिएको छ ।

बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ । यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।

बंगलादेशको त्यस पुरै घटनाक्रमबाट भारतलाई ठूलो असर पर्ने भएको छ । भारत र बंगलादेशबीच पछिल्लो ५३ वर्षदेखि द्विपक्षीय सम्बन्ध रहेको छ । गत वर्ष नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा भारतले शख हसिनालाई विशेष अतिथिको रुपमा बोलाएको थियो । भारतले जी–२० शिखर सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री हसिनालाई मात्र खास महत्व दिएको थियो ।

अब शेख हसिना प्रधानमन्त्री नरहेपछि भारतका लागि समस्या हुने देखिएको छ । बंगलादेशको राजनीतिमा दुई ठूला अनुहार हुन् – बंगलादेश अवामी लिगकी शेख हसिना र बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की खालिदा जिया । पछिल्लो १५ वर्षदेखि बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगको सरकार रहेको थियो । हसिना प्रधानमन्त्रीको कुर्सीमा रहेकी थिइन् ।
विदेशी मामलाका जानकार कमर आगाका अनुसार भारत, बंगलादेशमा शेख हसिनाको सरकार हेर्न चाहन्छ । शुरूदेखि नै बंगलादेश नेशनलिस्ट पार्टीको झुकाव इस्लामिक कट्टरपन्थीतर्फ रहेको छ । जसले सँधै पाकिस्तानको वकालत गर्दै आएको छ । जसको फाइदा चीनलाई मिल्न सक्नेछ । किनकि चीन र पाकिस्तान नजिकका मित्र राष्ट्र हुन् ।

दक्षिण एशियामा बंगलादेश भारतको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ । कोभिड– १९ का बावजुद दुवै देशबीच २०२०–२१ मा १०.७८ बिलियन अमेरिकी डलरको व्यापार भएको थियो । त्यही वर्ष दुवै देशबीचको व्यापारमा ४४ प्रतिशतबाट बढेर १८.१४ बिलियन अमेरिकी डलरसम्म पुगेको थियो । २०२२–२३ मा भारत–बंगलादेशबीच कुल व्यापार १५.९३ बिलियन अमेरिकी डलरको भएको थियो ।

विद्युत् र ऊर्जाको क्षेत्रमा दुवै देशले मिलेर ठूलठूला योजना संचालन गरिरहेका छन् । बंगलादेशले हाल ११६० मेगावाट बिद्युत् भारतबाट आयात गरिरहेको छ । त्योसंगै हाई स्पीड डिजल ल्याउनका लागि दुवै देशबीच भारत–बंगलादेश मैत्री पाइपलाइनको ठूलो महत्व रहेको छ । भारतले पछिल्लो एक दशकमा बंगलादेशमा सडक, रेल, बन्दरगाह निर्माणका लागि हजारौ करोड रुपैयाँ सहयोग दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्