अर्जुनधारा, साउन २२ । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा सहभागी हुन जाने झापा अर्जुनधाराका खेलाडीहरुलाई विदाई गरिएको छ ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा अर्जुनधारा नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच खेलाडीहरुलाई विदाई गरिएको हो ।

कार्यक्रममा अर्जुनधाराबाट सहभागी हुने चारजना खेलाडी र एकजना प्रशिक्षकलाई विदाई गरिएको हो । विदाई हुने खेलाडीहरुमा विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङ रहेका छन् । प्रशिक्षकमा दिपेन्द्र दनुवार छन् । थापा, तामाङ र नेम्वाङले च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्नेछन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्ने छन् । थापाले ५६ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दा तामाङले (५१–५५) र नेम्वाङ्ले (२९–३२) केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दनुवारले जानकारी दिए । दनुवारका अनुसार खेलाडीहरु शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन हुन् ।

उनीहरुले च्याम्पियनसीपमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् । जसका लागि झापा जिल्लाबाट अर्जुनधाराका ४ खेलाडी र एक प्रशिक्षक मात्रै सहभागी बन्दै छन् । नेपालबाट जम्मा ५१ जना खेलाडी बैंकक जानेछन् । बैंककको सुवर्णभूमि क्याम्पसमा अगस्ट १० देखि १२ तारिखसम्म प्रतियोगिता हुनेछ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा विदाई भएको टोलीलाई नगर खेलकुद विकास समितिको तर्फबाट नगद २५ हजार प्रदान गरिएको थियो । त्यस्तै पाँचै जनालाई एक–एक थान ट्रयाकसुटसमेत वितरण गरिएको थियो ।

खेलाडी टोलीलाई नगर खेलकुद विकास समितिका अध्यक्ष धिमाल, अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल , वडा अध्यक्ष खगेन्द्र इङनाम, समितिका सल्लाहकार बिरबहादुर राईले खादा अबिर लगाइदिएर विदाई गरेका थिए ।

त्यस्तै नगर खेलकुद विकास समितिका सदस्यसचिव खगेन्द्र लिङ्देन, सदस्यहरु सुरेन राई, हेमलाल परियार, निशा तामाङ, तिलक योञ्जन , बिराज सुवेदीलगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्