झापा, साउन २२ । पाँच दिनअघि झापाको कन्काई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।


इलाम घर भई कन्काई– १ मा बस्दै आएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाँईको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज दिउँसो ३.३५ बजे मृत्यु भएको हो । उनलाई साउन १७ गते बिहान ९.४० बजे कन्काई– १ जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नं को मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याइएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ बस्ने अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले बताए । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्