झापा , साउन २३ । आज दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ ।

आज दिउँसो १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् । गुर्जेभन्ज्याङ प्रहरी वृत्तका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, ’हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्