झापा,साउन २४ । चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण विद्यार्थीले अब जनरल नर्सिङ पढ्न पाउनेछन् ।

नयाँ कार्यक्रमका लागि तीनवर्षे जनरल नर्सिङ पाठ्यक्रम स्वीकृत गरिएको आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । ‘पठनपाठन अघि बढाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै छौं,’ उनले भने, ‘शिक्षा मन्त्रालयको समन्वयमा विश्वविद्यालयहरूले जनरल नर्सिङको पठनपाठन गराउन सक्छन् ।’ हालसम्म एसईई उत्तीर्ण विद्यार्थीले पीसीएल नर्सिङ, प्रमाणपत्र मिड्वाइफेरि तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीले स्नातक तहमा बीएस्सी, बीएनएस नर्सिङ र बीएस्सी मिड्वाइफेरि पढ्न पाउने व्यवस्था छ ।

जनरल नर्सिङ यी कोर्सभन्दा फरक तरिकाबाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । प्रि–विश्वविद्यालय कोर्सका रूपमा जनरल नर्सिङको पठनपाठन गराउने तयारी गरेको डा. झाले जनाए । ‘अहिले सञ्चालित पीसीएल, बीएस्सी, बीएनएसलगायत कार्यक्रम पनि सञ्चालनमा नै रहन्छन्,’ उनले भने, ‘अन्य देशको पनि अभ्यासमा रहेको जनरल नर्सिङ अध्यापन गराउन कोर्स स्वीकृत भएको हो । यो विषय पढ्न विद्यार्थी विदेश जाने गरेका छन् । यही पढ्न पाऊन् भन्ने उद्देश्य हो ।’ शिक्षा मन्त्रालयबाट विश्वविद्यालयले सम्बन्धनलगायत प्रक्रिया अघि बढाएर उक्त कोर्स पढाउन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्