झापा,साउन २४ । खानेपानी महशुल र शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलहरूको प्रदर्शनका कारण बिहीबार उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ।

शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरेका छन् । बिहीबार उपमहानगर कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ।
कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो। बल प्रयोगबाट केही घाइते भएका छन्।
मेयरले मनोमानी रूपमा शुल्क र महसुल बढाएको भन्दै दलहरूले धरान खानेपानी बोर्डको कार्यालय र महशुल संकलनका लागि खोलिएका काउन्टरहरूमा ताला लगाएका थिए।

ताला खोल्न उच्च अदालत विराटनगरको आदेशपछि खोल्न बाध्य भएका थिए। त्यसपछि उनीहरूले उपमहानगर घेराउको कार्यक्रम बनाएर आन्दोलन सुरू गरेका हुन्।

धरान उपमहानगरको मातहतमा खानेपानी व्यवस्थापन बोर्ड रहेका कारण मेयर साम्पाङले महशुल वृद्धिको निर्णय गरेका थिए। उनले धरानमा खानेपानी आयोजनाको निर्माणमा एसियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएकोले महशुल बढाएको प्रष्टीकरण दिँदै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्