झापा, साउन २५ । झापामा चारवटा सर्पदंश उपचार केन्द्र छन् । तर, सर्पको टोकाइबाट झापाकै धेरै जनाको मृत्यु हुने गरेको छ ।

चारआली दमक , कोटीहोम र बनियानी गरी चार ठाउँमा सर्पदंश उपचार केन्द्र संचालित छन् । चारआलीमा नेपाली सेनाको सर्पदंश उपचार केन्द्र , दमकमा रेडक्रसद्वारा संचालित उपचार केन्द्र , कोटीहोममा कनकाई सहारा सर्पदंश उपचार केन्द्र र बनियानीमा कचनकवल गाउँपालिकाद्वारा संचालित बनियानी सर्पदंश उपचार केन्द्र रहेका छन् । ती उपचार केन्द्रहरुमा साविक मेची अञ्चलभरिका, छिमेकी जिल्ला मोरङका र भारतको बंगाल र बिहारका सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा त्यहाँका विरामीहरु झापा आउने गरेका हुन् ।

झापामै चारवटा उपचार केन्द्र हुँदासमेत वर्षेनि धेरै जिल्लावासीहरुले सर्पको डसाइबाट ज्यान गुमाउनु परिरहेको छ । दुई महिनामा झापामा विषालु सर्पको डसाईबाट दुईजनाको मृत्यु भइसकेको छ । एक किशोर र अर्की बालिकाको सर्पको डसाईबाट मृत्यु भएको हो । बुधबार राति घरमा सुतेकै ठाउँमा सर्पले डस्दा मेचीनगर नगरपालिका–८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो।त्यसअघि गत असार ११ गते साँझ कचनकवल गाउँपालिका वडा नं.३ गंगाबस्ती बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले डस्दा उनको मृत्यु भएको थियो । त्यसअघि गत फागुन ३ गते विषालु सर्पले डसेर कचनकवलकै एक महिलाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कचनकवल वडा न.१ बस्ने ओमबहादुर दाहालकी श्रीमती अन्दाजी ६५ वर्षीया टिकामाया दाहाल रहेकी छन् ।

मेचीनगर–८ का राजवंशीलाई घरमा सुतेकै ठाउँमा सर्पले डसेकोमा उपचारका लागि अस्पताल पु¥याउन नसक्दा उनको मृत्यु भएको बताइएको छ । सचेतना अभाव र मानिसको लापरवाहीका कारण धेरैजनाको मृत्यु हुने गरेको रेडक्रस झापाका सभापति लोकराज ढकाल बताउँछन् । सर्पको टोकाइृको प्रकृति , मानिसको लापरवाही , समयमै उपचार नहुनु, यातायातको असुविधाजस्ता कारणले सर्पको टोकाईबाट ज्यान गुमाउनु परिरहेको उनले बताए ।‘ छिमेकी जिल्ला र भारतका विरामीहरु बेलैमा आएर उपचार गरेर फर्किन्छन् ’उनले भने,‘ घर पायकमा चार वटा उपचार केन्द्र हुँदासमेत झापाकै मानिसहरु निको नभएर मर्नु भनेको दुःखद हो ।’ गर्मी शुरु भएसँगै यतिवेला सर्पदंशका बिरामीहरुको चाप बढेको सर्पदंश उपचार केन्द्रहरुले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्