झापा,साउन २५ । दिक्तेल माटिकोरेस्थित दिक्तेल फुटबल रङ्गशाला निर्माणको काम अलपत्र छाड्दा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन जोखिममा परेको छ । रङ्गशाला निर्माण गर्दा भित्तापट्टि खनेर त्यत्तिकै छाडिएकाले पहिरोले शौचालय भत्किनुका साथै कार्यालयसमेत जोखिममा परेको हो ।

कार्यालयको एउटा भवनको तल्लो भाग पूर्ण रूपमा चर्किएको छ । अर्को भवन पनि जोखिममा परेको छ । निर्माण कम्पनीले बेलामा काम नसक्दा यो अवस्था आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए । ‘रङ्गशाला निर्माण गर्दा भित्तापट्टि मेसिनरी वाल हाल्न ढिलाइ गर्दा भत्किएको हो,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारी, प्रहरी, सम्बन्धित माथिल्लो निकायमा जानकारी गराइएको छ ।’

उक्त रङ्गशाला निर्माणको ठेक्का आशीर्वाद–मोहन एण्ड गाउँबेसी–इन्द्रलक्ष्मी कन्ट्रक्सन जेभीले लिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको २ करोड ९६ लाख ४१ हजार ४ सय ९५ रुपैयाँको लागतमा २०८१ वैशाख २८ सम्ममा सक्ने गरी २०७९ वैशाख २९ मा सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले मोबिलाइजेसन पेस्कीबापत २९ लाख ६४ हजार लिएर काम थालेर अलपत्र पारेपछि यो अवस्था आएको हो । निर्माण व्यवसायीका कारण यो अवस्था आएको र यसको जिम्मेवारी पनि स्वयं निर्माण व्यवसायीले नै लिनु पर्ने नगरपालिकाका सूचना अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार भट्टराईले बताए । ‘काम त्यत्तिकै छाडेकाले यो अवस्था आएको हो,’ उनले भने, ‘ठेकेदार स्वयंले यसको जिम्मेवारी लिनुपर्ने हुन्छ ।’ उक्त रङ्गशालाको स्टिमेट परिवर्तन भएकाले काममा ढिलाइ भएको निर्माण कार्यमा संलग्न जोसेफ रिजालले बताउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्