झापा,साउन २५ । जिल्ला अदालत इलामले गत आर्थिक वर्ष २०८०÷०८१ मा सात सय ६९ थान मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदालतले २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा एक हजार एक सय ३९ थान मुद्दामध्ये सात सय ६९ थान मुद्दा फर्छ्यौट गरेको सूचना अधिकारी अर्जुन राईले जानकारी दिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको तीन सय ९८ थान र नयाँ दर्ता सात सय ४१ थान गरी एक हजार एक सय ३९ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

अदातलमा दर्ता भएका मुद्दामध्ये ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको सूचना अधिकारी राईले जानकारी दिए । उनले जिल्ला अदालत इलाममा दुई वर्ष नाघेका कुनै मुद्दा नरहेको बताए। आर्थिक वर्ष २०८०र०८१ मा दुई दुई वर्ष नाघेका मुद्दा फैसला संख्या ५४ रहेको छ । दर्ता भएका र फर्छ्यौट भएकामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको पाइएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा सम्बन्ध विच्छेदका मात्र जिम्मेवारी सरेको एक सय ८६ थान र नयाँ दर्ता चार सय ८२ थान गरी छ सय ६८ थान मुद्दा दर्ता भएका थिए । जसमध्ये मात्र पाँच सय चार थान मुद्दा फर्छ्यौट भएको छ । सम्बन्ध विच्छेदका एक सय ६८ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । त्यैगरी जबरजस्ती करणीका मुद्दा अदालतमा सरी आएको २१ थान र नयाँ दर्ता ३२ थान गरी ५३ थान मुद्दा दर्ता भएका थिए ।

जसमध्ये २८ थान मुद्दा फर्छ्यौट भएको छ भने २५ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा फर्छ्यौट हुन बाँकी मुद्दा तीन सय ७० थान रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा तीन सय ९८ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्