झापा, साउन २५ ।आदिवासी जनजातिहरुले नेपालका शासकहरु नसच्चिए बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बेगमको जस्तो हालत हुने चेतावनी दिएका छन् ।

३० औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आज साँझ बिर्तामोडमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै आदिवासी जनजाति अगुवाहरुले त्यस्तो चेतावनी दिएका हुन् । उनीहरुले गैर आदिवासीहरुकै कारण नेपाल भ्रष्ट र गरिव राष्ट्र बनेको दावी गर्दै देश जोगाउन अब आदिवासी जनजातिहरुलाई सत्ता सुम्पिनु पर्नेमा जोड दिए । ‘जबसम्म आदिवासी जनजातिहरुको हातमा शासन सत्ता जाँदैन, तबसम्म देशमा भ्रष्टाचार र अस्थिरता बढिरहन्छ’उनीहरुको भनाई छ । कांग्रेस र एमालेकोे गठबन्धन सरकारले संविधान संशोधन गर्न लागेको अबस्थामा संशोधनका नाममा आदिवासी जनजातिका अधिकारहरु चलाए राम्रो नहुने उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडले मुक्ति चौकमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको थियो । नगर समन्वय परिषदका अध्यक्ष राजकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा रिमानध्जव लोक्ताम , वीरेन मेचे , हिमालप्रकाश कन्दङ्वा , पदम तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर समन्वय परिषदका उपाध्यक्ष जीवन श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन सहसचिव लीलाबहादुर गुरुङले गरेका थिए । दीप प्रज्ज्वलन कार्यक्रममा नगरका विभिन्न आदिवासी जनजाति समुदायका जातिहरुको सहभागिता रहेको थियो । बिर्तामोडमा आदिवासी जनजाति समुदायअन्तर्गत १८ वटा जातिहरु रहेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्