झापा,साउन २६ । झापाको दमकलाई कार्यक्षेत्र बनाएर काम गरिरहेका सहकारी संस्थाहरूले बारम्बार पत्राचार गर्दा पनि विवरण पठाउन अटेर गरेपछि दमक नगरपालिकाले जरिवाना र कारबाही गर्ने चेतावनी दिएको छ ।

नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने एक सयभन्दा बढी सहकारीहरू मध्ये आधाले मात्र विवरण पेस गरेको र बाँकीले नगरेपछि कारबाही प्रक्रिया अघि बढाइएको दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौलाले बताए । सहकारी संस्थाहरू मनपरी रूपमा चलेको गुनासो र उजुरी आउन थालेपछि नगरपालिकाले चासो दिन सुरु गरेको छ ।

गत साउन १५ गते नगरपालिकाले सबै सहकारी संस्थाहरूलाई एक साताभित्रमा सहकारीको पूर्णविवरण पठाउन निर्देशन जारी गरेको थियो । सो अवधिमा सबै सहकारी संस्थाहरूले विवरण नपठाएपछि पुनः पाँच दिनको समय दिएर पत्राचार गरिएको निरौलाले जानकारी दिएका छन् ।

तोकिएको समयभित्र विवरण नपठाएमा विवरण पठाउनुपर्ने जिम्मेवार व्यक्तिलाई दमक सहकारी ऐन २०७५ बमोजिम कारबाही गरिने तयारी गरिएको निरौलाले बताए । सहकारी संस्थामा रहेका सदस्यको संख्या, बचतकर्ताको संख्या, सदस्यहरूको कुल बचत रकम, ऋणी सदस्यहरूको संख्या नगरपालिकाले माग गरेको छ ।

यसैगरी संस्थाबाट प्रवाह भएको कुल ऋण लगानी रकम, भाका नाघेको ऋण रकम, ऋणको भाका नाघेको ऋणीको संख्या, एकाघरका सदस्यहरूमा अलगअलग ऋण लगानी भए नभएको, एउटा सदस्यलाई एक पटकभन्दा बढी ऋण लगानी भए वा नभएको, दोहोरो सदस्य रहे वा नरहेको र भएमा संख्या पनि नगरपालिकाले माग गरेको छ ।

एकाघरको दुई वा सोभन्दा बढी सदस्य सञ्चालक रहे नरहेको, महिला र पुरुष कर्मचारीको संख्या लगायतका विवरणहरू खुलाएर पठाउन सहकारी संस्थाहरूलाई नगरपालिकाले पत्राचार गरेको छ । विवरण हेरेर सहकारीहरूको अवस्था पत्ता लगाउन खोजिएको निरौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्