झापा, साउन २६ । प्रभु बैंक प्रकरणमा प्रत्यक्ष संलग्न स्वागत नेपालले आफूहरुले आरोपित प्रमोद सिटौलालाई गायब गरेको नभई उनी आफैले अपहरणको नाटक मंचन गरेको दाबी गरेका छन् ।

तीन दिनअघि सिटौलाकी श्रीमती भद्रपुर ७ निवासी एलिसा बुढाथोकी सिटौलाले प्रभु बैंक बिर्तामोड शाखाका सुपरभाइजर पदमा कार्यरत आफ्ना श्रीमान सिटौलालाई टिकाराम नेपाल ‘नेती’ ,स्वागत नेपाल र तुलसी उप्रेतीले बेपत्ता बनाएको आरोप लगाएकी थिइन् । सो आरोपको खण्डन गर्दै टिकाराम नेतीका दाजु कानुन व्यवसायी स्वागत नेपालले परिवार र प्रभु बैंकका कर्मचारीले मिलेर सिटौलालाई दुबई भगाएको दावी गरेका हुन् । पंकज भट्टराई र रंजित भनिने बैंक कर्मचारीले सिटौलालाई दुबई भगाएको उनको दावी छ ।

‘ सिटौला परिवारले अपहरण शैलीमा घरबाट उठाएर लिएर गएको र मम फ्याक्ट्रीबाट गायब गरेको भन्नु सरासर झुट हो ’ उनले भने,‘ जसको पैसा खाइदियो , उसैलाई फसाउन खोजियो ।’ बैंकमा उजुरी दिइसकेपछि भाग्ने योजना बनाएका सिटौला टुथपेष्ट , ब्रस , अन्डरवेयरजस्ता सामान बोकेरै आफूहरुको मम फ्याक्ट्रीमा आएको र आफै मम फ्याक्ट्रीबाट निस्केको प्रमाण सीसीटीभी फुटेजमा रहेको उनले स्पष्ट पारे । सिटौलाले छोडेर हिडेको व्याग प्रहरीलाई प्रमाणको रुपमा बुझाइसकेको उनले जानकारी दिए ।

गत साउन १६ गते बैंकमा भएको कारोवारको विषयलाई लिएर नेतीसहित तीन जनाले प्रमोदलाई घरबाट नै अपहरण शैलीमा बिर्तामोड लिएर आएको सिटौला परिवारले दावी गरेका थिए ।

नेतीले श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंक बिर्तामोड शाखामा एक करोड १७ लाख रुपैयाँ डिपोजिट गरेको र सो रकम हिनामिना भएको दावी गर्दै आएका छन् । तर, प्रभु बैंकले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट अनधिकृत रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्