बिर्तामोड , साउन २६ । झापाको बिर्तामोड ९ स्थित गरामनीमा स्थापना गरिएको रूपनारायण पवित्रा प्रसाई स्मृति प्रतिष्ठानले शनिबार चौथो स्मृति सभाको आयोजना गरी ५ जनालाई नगद सहयोगसहित सम्मान गरेको छ।

अमेरिकामा बसोबास गर्दै आएका छोराबुहारी नन्दिकेशर प्रसाई र सरिता प्रसाईले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त प्रतिष्ठानले हरेक वर्ष आर्थिक सहयोगकासाथै सम्मान गर्ने गरेको छ। यस वर्ष आदर्श बुहारी सम्मानबाट बिर्तामोड निवासी मिना आचार्य ,यसैगरी अशक्त सहयोग समिर राजवंशी, क्यान्सरपीडित फगिमाया पाठक, प्यारालाइसिसबाट पीडित राजेन्द्र भण्डारी र जेहेन्दार विद्यार्थी सम्मानबाट दुर्गा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा लीला बुढाथोकीलाई जनही रु ५ हजारका दरले सहयोगसहित सम्मानपत्र प्रदान गरिएको थियो। यसैगरी प्रतिष्ठानले प्रसाई ट्रस्ट कल्याणकारी कोष झापालाई रु १ लाख प्रदान गरेको छ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष कमल संग्रौलाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा प्रमुख अतिथि पूर्व संस्कृति मन्त्री खगेन्द्र प्रसाईले प्रतिष्ठानमार्फत समाजमा रहेका समस्याग्रस्त व्यक्तिहरुलाई सम्मान गरेर प्रशंसनीय काम गरेको बताए। कार्यक्रममा अक्षयकोष सञ्चालक समितिका अध्यक्ष तुलसीराम प्रसाई ,दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, स्थानीय भद्रप्रसाद चुडाल, छविलाल प्रसाई, प्रदिप संग्रौला, कुलप्रसाद खरेल, पूर्णप्रसाद ओडारी , शक्तिलाल भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन लोकेन्द्र प्रसाईले गरेका थिए ।

१ प्रतिक्रिया

  1. अति राम्रो सामाजिक काम अझै धेरै गर्ने शुभकामना छ सबै मा विशेष धन्यवाद नरेस जि लाई जि लाई जो बिदेशी भुमी मा बसेर पनि आफ्नो गाउँ परेको दुख लाई सहयोग गर्नु हुन्छ धन्यवाद ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्