झापा,साउन २६ । झापामा भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
आदित्यको साथबाट चाँदीको १ थान सिक्री, टेलिकमको ५० दरको १९ थान रिचार्ज कार्ड, छिरिङको साथबाट चाँदीको औँठी २ थान, चाँदीको पाउजु–२ थान र चाँदीको सिक्री–१ थान, एनसेलको रु ५० दरको रिचार्ज कार्ड ५–थान र निखिलको साथबाट १ थान चाँदीको सिक्री बरामद गरिएको डीएसपी चन्दले बताए ।
प्रहरीले छिरिङको घरबाट लुकाइछिपाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक समेत फेला पारेको उनले बताए । गत साउन २५ गते राती साढे १० बजेको समयमा अर्जुनधारा–७ स्थित मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाई चोरी भएको सूचना पछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ देवान चोकमा बसोबास गर्ने ती युवाहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्