झापा,साउन २७ । मोरङमा श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेका छन्। सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन्।


लक्ष्मणले आइतबार बिहान ११ बजेतिर खुकुरीले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए। खुकुरी प्रहारबाट पवित्राको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।

अंश विवादका कारण पवित्राको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमान–श्रीमतीबीच अदालतमा यसअघि मुद्दासमेत चलेको थियो। पछि दुवै जना मिलेर बस्नेगरी मुद्दामा मिलापत्र भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पवित्राको माइती मोरङको लेटाङ हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्