झापा,साउन २८ । धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महशुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महशुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।

धरानका १० राजनीतिक दलहरुसहित स्थानीयवासीले साउन ११ गतेबाट विरोध गर्दै आएका थिए । नगरप्रमुख हर्कराज राईले एक्लौटी रुपमा खानेपानीको महशुल दर नौ हजार नौसय प्रतिशतसम्म वृद्धि गरेको भनी आन्दोलित १० दलसँग नगरप्रमुख राईले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले मूल्य वृद्धि फिर्ता लिने निर्णय गरेको हो ।

नगरप्रमुख हर्कराज राईले दलका प्रतिनिधिले राखेको तीन सुत्रीय मागमा सहमती गरी खानेपानी महशुलको पुरानो दर यथावत् राख्ने निर्णय भएको बताए । वार्तामा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ,

‘खानेपानी महशुल वृद्धिबारे खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महसुल यथावत् राखी पुनर्विचार गर्ने निर्णय गरियो ।’

दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिनुपर्ने दलको मागबारे उक्त बिषय उच्च अदालतमा विचाराधीन भएकाले अदालतको आदेश प्राप्त भएपछि सोहीअनुसार हुने निर्णय भएको छ ।

त्यसैगरी, तेस्रो बुँदामा खानेपानी बोर्डको आय–व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय पनि उक्त वार्तामा भएको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्