झापा, साउन २९ । झापाको कचनकवल –७ बालुवारीस्थित दिपज्योति सामुदायिक वन समूहको कार्यालयमा उपभोक्ताहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

बिगत एक बर्षदेखि वन समिति मनोमानी ढंगले चलेको तथा आर्थिक र काठ हिनामिना गरेको भन्दै उपभोक्ताहरुले सो सामुदायिक वन समूहको कार्यालयमा आज बिहान १० बजेदेखि अनिश्चितकालिन तालाबन्दी गरेका हुन्। उपभोक्ताहरुलाई काठ नदिएर वन समितिले स्थानीय ब्यापारीहरुलाई काठ बेच्ने गरेको, वन समितिले नक्कली बिल बनाई काठहरु बेच्ने गरेको,उपभोक्ताहरुको नाममा काठ निकासी गरी काठ तस्करी गरेको ,उपभोक्ताले काठ खरिद गर्दा तिर्ने रकमभन्दा कम रकम रसिदमा उल्लेख गरी भ्रष्टाचार गरेको आम उपभोक्ताको आरोप रहेको छ।

बिधानबिपरित मनोमानी ढंगले अधिबेशन गरेको भन्दै गत बर्षको बार्षिक साधारणसभा उपभोक्ताको बिरोधका कारण बिथोलिएको थियो । त्यसपछि कचनकवल–७ का वडा अध्यक्ष भरत राजवंशीको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनेको थियो। छानबिन समितिले गत चैत्र १५ गतेसम्म बिधानबमोजिम अर्को अधिवेशन गर्न सुझाव दिएको थियो । तर,वन समितिले बिधानबिपरित अधिवेशन गर्न लागेपछि तालाबन्दी गरिएको आन्दोलित उपभोक्ताको नेतृत्व गर्ने लोकबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्