झापा, साउन ३० । दिपज्योति वनका उपभोक्ता र वन समितिबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

दिपज्योति वन समिति बिधान अनुसार चल्नु पर्ने, आर्थिक अनियमितता छानबिन हुनु पर्ने, अर्काको नाममा काठ निकासी गरी बेच्नेहरुलाई कारबाही हुनु पर्ने माग राखी हिजो बिहान १० बजेदेखि वन समिति कार्यालयमा ताला लगाएका उपभोक्ता र वन समितिबीच आज वार्ता भएको थियो । वार्ता निष्कर्षमा पुग्न सकेन ।

कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको आग्रहमा अध्यक्षको कार्यकक्षमा बैठक बसेको थियो। आन्दोलनरत पक्ष, वन समिति, पालिका प्रतिनिधि, प्रहरीसमेतको उपस्थितिमा ५ घण्टासम्म चलेको बैठकमा वन समितिले बिधान विपरितका कामबाट पछि नसर्ने भनेपछि वार्ता विफल भएको आन्दोलनरत समूहका अगुवा लोकबहादुर बस्नेतले जानकारी दिए । केहि सिटमा आन्दोलनरत पक्षका व्यक्तिलाई पनि समितिमा अटाउनेगरी प्रस्ताव आएको तर आफूहरुको माग बिधानसम्मत समिति चल्नु पर्ने भएको बस्नेतले बताए ।

बिगत एक बर्षदेखि वन समिति मनोमानी ढंगले चलेको तथा आर्थिक र काठ हिनामिना गरेको भन्दै उपभोक्ताहरुले सो सामुदायिक वन समूहको कार्यालयमा हिजो बिहान १० बजेदेखि अनिश्चितकालिन तालाबन्दी गरेका छन्। उपभोक्ताहरुलाई काठ नदिएर वन समितिले स्थानीय ब्यापारीहरुलाई काठ बेच्ने गरेको, वन समितिले नक्कली बिल बनाई काठहरु बेच्ने गरेको,उपभोक्ताहरुको नाममा काठ निकासी गरी काठ तस्करी गरेको ,उपभोक्ताले काठ खरिद गर्दा तिर्ने रकमभन्दा कम रकम रसिदमा उल्लेख गरी भ्रष्टाचार गरेको आम उपभोक्ताको आरोप रहेको छ।

बिधानबिपरित मनोमानी ढंगले अधिबेशन गरेको भन्दै गत बर्षको बार्षिक साधारणसभा उपभोक्ताको बिरोधका कारण बिथोलिएको थियो । त्यसपछि कचनकवल–७ का वडा अध्यक्ष भरत राजवंशीको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनेको थियो। छानबिन समितिले गत चैत्र १५ गतेसम्म बिधानबमोजिम अर्को अधिवेशन गर्न सुझाव दिएको थियो । तर,वन समितिले बिधानबिपरित अधिवेशन गर्न लागेपछि तालाबन्दी गरिएको आन्दोलित उपभोक्ताको नेतृत्व गर्ने बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्