बिर्तामोड, साउन ३० । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत अनारमनी वितरण केन्द्रको परिसरभित्र विश्वकर्मा बाबाको मन्दिर निर्माण भएको छ ।

करिव १७ लाखको लागतमा निर्माण भएको सो मन्दिरको गत वर्ष मंसिर ११ गते शिलान्यास गरिएको थियो । आज एक विशेष धार्मिक कार्यक्रमका बीच विद्युत प्राधिकरणका प्रादेशिक प्रमुख उमेशकुमार साहले मन्दिर उद्घाटन गरेका छन् । तीन दिनदेखि प्राण प्रतिष्ठा गरी आज मन्दिरमा मूर्ति स्थापना गरिएको हो । अनारमनी वितरण केन्द्र प्रमुख संजीवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले मन्दिरलाई सफल रुपमा व्यवस्थापन गरी सवैको आस्थाको केन्द्रको रुपमा विकसित गर्न आग्रह गरे । जनप्रतिनिधि , वितरण केन्द्रका प्रमुखहरु , कर्मचारी र सेवाग्राहीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन लेखा अधिकृत विकास दाहालले गरेका थिए । कार्यक्रममा कर्मचारी दुर्गाप्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

मन्दिर निर्माण गर्नका लागि वितरण केन्द्र प्रमुख साहको अध्यक्षतामा ११ सदस्यीय विश्वकर्मा बाबा मन्दिर निर्माण समिति निर्माण गरिएको थियो । सो समितिले करिव ३ सयजना दाताहरुबाट करिव १८ लाख रुपैयाँ संकलन गरेको समितिका कोषाध्यक्ष प्रकाश विकले बताए । वितरण केन्द्रले पुजारी राखेर दैनिक पूजापाठ गर्ने भएको छ । सबैका लागि खुल्ला गरिएको सो मन्दिरमा असोज १ गते विश्वकर्मा पूजाको दिन वर्षेनि भव्य पूजा आयोजना गरिने वितरण केन्द्र प्रमुख साहले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्