झापा,साउन ३१ । नेपाल–भारत सीमामा रहेको इलामको पशुपतिनगरस्थित नाकालाई वैध नाकाको रुपमा मान्यता दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।

पहाडी जिल्लामध्ये नेपाल–भारत निकासी–पैठारीका लागि सहज हुने पशुपतिनगर नाकालाई वैध नाकाका रुपमा सञ्चालन गरेर नेपालमा उत्पादित कृषि सामग्रीलाई भारत पठाउन सहयोग गर्न स्थानीयले माग गरेका हुन् ।

कृषि समस्याका विषयमा सूर्योदय नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम आइपुगेका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङसँग स्थानीय, व्यापारी र व्यवसायीहरुले पशुपतिनगर नाका खुला गर्दाका फाइदा र बेफाइदाका विषयमा छलफल गरेका थिए ।

छलफलका क्रममा सूर्योदय नगरपालिका –२ का सदस्य उपेन्द्रराज पाण्डेले कोशीको पहाडी भेगमा कृषि र पर्यटनको विकासका लागि पशुपतिनगर नाकालाई व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताए । ‘यहाँबाट नेपाली किसानले उत्पादन गरेको कृषिउपज सहज ढङ्गले भारत जान पाउँदैन, भारतबाट पनि दैनिक उपभोग्य वस्तु सहज रुपले आउन मुस्किल छ’ पाण्डेले भने ‘भारतको दार्जिलिङ र सिक्किम घुमेर फर्कने तेस्रो मुलुकका पर्यटक चाहेर पनि पशुपतिनगरबाट नेपाल प्रवेश गर्न पाउँदैनन् । यसले हामीलाई घाटा छ ।’

नगरस्थित वाणिज्य सङ्घ अध्यक्ष प्रमोद राईले पूर्वी क्षेत्रको कृषि, पर्यटन उद्योगमा देखिएका समस्या समाधान गर्न तीन तहको सरकारले नागरिकको आवाज सुनेर काम थाल्नुपर्ने कुरामा प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

करिब पाँच वर्षअघि पशुपतिनगरमा स्थापना भएको अध्यागमन कार्यालयलाई सञ्चालनमा ल्याउन भारततर्फ पनि अध्यागमनको पहल गर्न सङ्घीय सरकारले नै पहल गर्नुपर्नेमा सहभागीको जोड थियो ।

किसान, उद्योगी र व्यवसायीसँगको छलफलमा प्रदेश प्रमुख खापुङ्गले कृषि क्षेत्रका समस्या समाधान गर्न आफूले प्रदेश र सङ्घीय सरकारसँग छलफल गर्ने प्रतिबद्धता जनाए । उनले कृषिको समृद्धिका लागि गर्नुपर्ने नीतिगत सुधार आवश्यक भएको भन्दै आफूले समस्या समाधानका निम्ति पहल गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्