झापा,साउन ३१ । पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षका लागि दौडधुप सुरु भएको छ । राजनीतिक नियुक्ति हुने भएपछि नेकपा एमालेका पाँचजनाले दाबी गरेका छन् । संघीय सरकारले पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि नयाँ अध्याय सुरु भएको हो ।

नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेका अनुसार अध्यक्षका लागि धनेन्द्र मादेन, सन्तोष खतिवडा, कुमार मादेन, राजा मादेन र अम्बिका नुगोको दाबी छ । धनेन्द्र यसअघि जिल्ला समन्वय समितिको प्रमुख भएका हुन् भने सन्तोष नेकपा एमाले जिल्ला कमिटीको पूर्व उपाध्यक्ष हुन् । कुमार कोशी प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङबो तथा फुङलिङ नगरपालिकाका पूर्व मेयर छत्रपति प्याकुरेलका स्वकीय सचिव भएका व्यक्ति हुन् ।

राजा पाथीभरा क्षेत्र विकास समितिका पूर्व सदस्य र एमाले कार्यकर्ता हुन् भने अम्बिका एमाले जिल्ला कमिटी सदस्य हुन् । कोशी प्रदेश एमालेको नेतृत्वमा रहेको र मुख्य मन्त्रीले नियुक्त गर्ने भएकाले एमाले कार्यकर्ताको दौडधुप सुरु भएको हो ।

पाथीभरा क्षेत्र भने प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने भएको छ । कांग्रेस सरकारमा सहभागी भई नसकेको र माओवादी सरकारबाट बाहिरिइसकेको अवस्थामा प्रदेशले एमालेकै सिफारिसमा नियुक्त गर्ने दाबी एमाले वृत्तमा छ । दाबेदारहरू धेरै भएपनि पार्टीले कसैको नामपनि सिफारिस नगरेको र गर्नुपर्ने भए कोशी प्रदेशको बैठकपछि गर्ने अध्यक्ष तुम्बाहाम्फे बताउँछन् । एमाले कोशी प्रदेशको बैठक भाद्र १ गते बस्दै छ ।

‘प्रदेश बैठकमा गएपछि म मुख्यमन्त्रीको चाहना के रहेछपनि बुझ्छु,’ अध्यक्ष तुम्बाहाम्फेले भने, ‘त्यसपछि प्रक्रिया अगाडि बढ्ला ।’ प्रदेश सरकारले अध्यक्ष र एक महिलासहित अन्य तीनजना सदस्य चयन गर्ने छ । उनीहरूको योग्यता भने ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । कार्यकारी निर्देशक भने १५ दिनको सूचना खुलाएर नियुक्त गरिने गठन आदेशमा उल्लेख छ ।

आर्थिक वर्ष सुरु भएसँगै यसअघिको समितिलाई काम नगर्न नगराउन प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेका छन् । पाथीभरा क्षेत्र अहिले पदाधिकारी तथा कर्मचारीविहीन रहेको छ ।

गठन आदेशले जिल्ला र क्षेत्र नतोकेकाले प्रदेश सरकारले अरुलाई पनि नियुक्त गर्ने सम्भावना रहने यसका जानकार बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्