झापा,साउन ३१ । झापाको बिर्तामोडमा हात्ती रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार निर्माणको काम सुरु भएको छ । हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार इलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो ।
वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ । तारबार निर्माण कार्यको शिलान्यास नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बिहीबार गरेकी छिन् ।
शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार प्रभावकारी हुने बताइन् । उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारबार फलदायी हुने अपेक्षा राखेको भन्दै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मानवबस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताए । उनले यति पर्याप्त नभए पनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।
१ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ ।

ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नुपर्नेछ । संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको थियो ।
उनले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार भइसकेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्