दुहागढी , साउन ३१ । मेचीनगर नगरपालिकाले यहाँको एउटा सामुदायिक विद्यालयलाई विद्यालय गाडी हस्तान्तरण गरेको छ ।

मेचीनगर नगरपालिका —१४ स्थित दुहागढीमा रहेको जिल्लाकै नमूना बालसुबोधिनी माध्यमिक विद्यालयलाई स्कुल म्याजिक भेन हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । बालसुबोधिनी हरेक दृष्टिकोणले विद्यार्थीदेखि अभिभावकसम्मको रोजाईमा पर्ने गरेको छ । जिल्लाभित्र र बाहिर थुप्रै विद्यार्थी शिक्षक अवलोकनका लागि आउने गरेका छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन मेचीनगर नगरपालिकाको नौ लाख र मेचीनगर नगरपालिका वडा नम्बर—१४ को १७ लाख ५० हजार गरी कुल २६ लाख ५० हजार रुपैयाँको लगानीमा म्याजिक भ्यान खरिद गरिएको प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई स्कूल गाडी हस्तान्तरण गर्ने योजनाबमोजिम नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नं १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले एक कार्यक्रमका बीच सवारीसाधनको आवश्यक कागजात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल राजवंशी, सदस्य लोकेश्वर राजवंशी र प्रधानाध्यापक विश्व थापालाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

घर र विद्यालयको दूरी धेरै हुँदा विद्यालय पढ्न आउने विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजताका लागि गाडी हस्तान्तरण गरिएको नगरपालिका प्रमुख बुढाथोकीले जानकारी दिए । ‘सामुदायिक विद्यालयहरुलाई सुविधासम्पन्न बनाई शैक्षिक गुणस्तर बढाउन र विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँचका लागि हाम्रो कामले महत्वपूर्ण भूमिका प्रदान गर्नेछ,’ नगरप्रमुख बुढाथोकीको भनाइ छ ।करिब छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयमा झण्डै ५ देखि ७ किलोमिटरसम्मको दूरीबाट विद्यार्थी आउने गरेका छन् । वडा नम्बर १४ (साविक दुहागढीको १,६,९ र ८) मा सञ्चालन हुने म्याजिक भेनले तीनवटा वडा आसपास क्षेत्रसम्मका विद्यार्थीलाई समेट्ने छ । जसबाट एकसय बढी विद्यार्थी लाभान्वित हुने उपप्रमुख उप्रेतीले बताइन् ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजवंशीले बताए । राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा १४ नम्बर वडाका वडाध्यक्ष बाबुलाल सुब्बा, विद्यालय व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीलगायतले नगरपालिकाप्रति हार्दिक आभार व्यक्त गरे । प्रधानाध्यापक विश्व थापाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका विभिन्न समस्याका बारेमा स्थानीय सरकारलाई अवगत गराईएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्