झापा, साउन ३२ । फिल्ममा श्रीमती बनेको नभई झापा गौरादह– ८ भुँडीसिमलका ७० वर्षीय वृद्ध कुलेन्द्रप्रसाद राजवंशीले आफूलाई बकैदा विहे नै गरेर घर भित्र्याएको गंगादेवी कोचले बताएकी छन् ।

‘हनी ट्रयाप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै कुलेन्द्रप्रसादले आफूमाथि लगाएको आरोपलाई गंगादेवीले सरासर झुट बताएकी छन् । आफूभन्दा करिव चालीस वर्षले जेठो कुलेन्द्रसंग नमान्दा नमान्दै उनले रातदिन धाएर आफूलाई विहे गर्न मनाएको गंगादेवीले बताइन् ।

गंगादेवीको भारतमा विहे भएको थियो । दुईजना छोरीकी आमा गंगादेवीले पहिलाका श्रीमानसंग करिव ७ वर्षअघि सम्बन्ध विच्छेद गरेकी थिइन् । आफ्ना बुबा विजय कोचलगायत परिवारका सदस्यहरुसंग सल्लाह गरी गत जेठमा कुलेन्द्रले आफूसंग कन्काईको कोटिहोममा विहे गरेको उनले स्पष्ट पारेकी छन् । विहेपश्चात् करिव एक महिना संगै बसेको र आफू माइत गएको बेला घरमा ताला लगाएर घर छोडेका कुलेन्द्रले त्यसपछि आफूलाई घरबाट निकाल्न विभिन्न षडयन्त्र रचेको गंगादेवीको दावी छ ।

माइतबाट घर फर्किदा ताला लगाएको भेटिएको र श्रीमान कुलेन्द्रलाई फोन गरेर बोलाउँदासमेत नआएपछि घर छेउका आफन्तकोमा १० दिनसम्म आश्रय लिएर अन्ततः बाध्य भएर घरको ताला फुटाएको उनको भनाई छ । आफ्ना श्रीमान कुलेन्द्र पीडित नभएर आफूलाई उनले घोर अन्याय गरेको भन्दै गंगादेवीले न्याय दिलाईदिन सरोकारवालाहरुसंग आग्रह गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्