मेचीनगर, साउन ३२ । वर्षौसम्म नाका बन्द गरेर बंगलादेशको आन्दोलनकै बेला भारतले पूर्वी नाका काँकरभिट्टा खोलिदिएपछि सुरक्षा चुनौती थपिएको छ ।

बंगलादेशमा आन्दोलन चर्किदा त्यहाँका नागरिकहरु भारत हुँदै नेपाल प्रवेश गर्नसक्ने खतरा बढेको हो । भुटानी शरणार्थी समस्याबाट नेपालले पूर्णरुपमा पार नपाइसकेको अवस्थामा शरणार्थीको रुपमा बंगलादेशीहरु पनि नेपाल प्रवेश गरेको खण्डमा अर्को ठूलो समस्या आइपर्ने देखेर यतिवेला पूर्वी नाकामा सुरक्षा चेकजाँचमा कडाई गरिएको छ ।

भारतले पूर्वी नाका खोलिदिएपछि सुरक्षा चुनौती थपिएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पूर्वी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको बताए । यसअघि नेपालका उद्योगी व्यवसायीहरुले पटक पटक नाका खोल्न आग्रह गर्दासमेत भारतले सुनुवाई नगर्नु र बंगलादेशको आन्दोलनकै बेला नाका खोलिदिनु शंकास्पद रहेको छ । प्रजिअ बास्तोलाले बंगलादेशसंग नजिक भएको पूर्वी नाका मात्र नभएर सबै नाका भारतले खोलेको जानकारी दिए ।

अहिलेसम्म पूर्वी नाकाबाट कुनै पनि बंगलादेशीले नेपाल प्रवेश गर्ने प्रयास नगरेको बास्तोलाले बताए । तर,मोरङको जोगबनी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशीलाई फिर्ता पठाइएको छ ।

भारतले तेस्रो मुलुकका लागि आवागमन खुला गरेसँगै पर्यटक आउने क्रम बढेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सो कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ जना पर्यटकहरुको आवागमन भएको छ । सोही अवधिमा १२३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने १०२ जना बहिर्गमन भएका छन् ।

भारतीय र बंगलादेशीलाई छुट्याउन गाह्रो भएको र उनीहरु अध्यागमन कार्यालयमा नजाने भएकाले नेपाल प्रवेशमा रोक्न समस्या देखिएको हो । कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएपनि पूर्वी नाका भारतीय पक्षबाट अवरोध रहँदै आएको थियो । गत साउन १७ गते भारतले पूर्वी नाका खुला गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्