झापा , साउन ३२ । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–२ का ३८ बर्षीय जगत धिमाल र वडा नं–३ का ३५ बर्षीय कमल गुरुङलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, गाँजा १०० ग्राम र नगद १२ हजार ६०० रुपैँयासहित सोही स्थानबाट पक्राउ गरेको छ ।

त्यस्तै हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका–३ मा इलाका प्रहरी कार्यालय पथरीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बीआर ३८ एल ९३०९ नम्बरको भारतीय मोटरसाइकल चालक २४ बर्षीय मिथलेसकुमार मण्डल, मोटरसाइकलमा पछाडी सवार रहेका २६ बर्षीय भाष्करकुमार शर्मा र २५ बर्षीय सौरवकुमार पासवानको साथबाट १० ग्राम ७०० मिलिग्राम ब्राउनसुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरी चौकी लेगुवा धनकुटाबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका– २ का ३० बर्षीय संगम राईलाई लागूऔषध गाँजा ४६० ग्राम, प्रतिबन्धित औषधी ट्रामाडोल २६ क्याप्सुल र कोलिवान २८ ट्याब्लेटसहित पक्राउ गरेको छ भने प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले बीआर ११ टी १६०० नम्बरको बेवारिसे अवस्थामा रहेको गाडी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट २ सय २० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद भएको छ ।

बरामद भएका लागूऔषध र पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्