खुदुनाबारी ,साउन ३२ । नेपाली कांग्रेस झापाका सदस्य बाबुराम बुढाथोकीको ६४ बर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका उनको हिजो साँझ अर्जुनधारा–३ खुदुनाबारीस्थित निजी निवासमा निधन भएको हो ।
२०१७ साल माघ १० गते पाँचथरको याङनाममा बुवा मनप्रसाद बुढाथोकी र आमा नैनकला बुढाथोकीको कोखबाट जन्मेका बुढाथोकीको परिवार २०२४ सालमा बसाई सरी झापाको खुदुनाबारीमा आएर बसोबास गर्न थालेको थियो ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसले जारी राखेको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रुपमा सहभागी भएका उनी २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट खुदुनाबारी गाविसको ३ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए । राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय उनी २०५६ सालमा सुखानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका उनी नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट साविक खुदुनाबारी गाउँ समितिको पार्टी सभापतिमा निर्वाचित भएका थिए भने १४ औं महाधिवेशनमा जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए ।
बुढाथोकीको पार्थिव शरीरमा नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, सचिव कृृष्ण हुमागाई, कोशी प्रदेश सदस्य रञ्जिता कार्की, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगर सभापति हेमराज खरेल लगायत नेता कार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन् । खुुदुनाबारीस्थित कैदले घाटमा उनको पार्थिव शरीरको आज अन्त्येष्टी गरिएको हो ।

जिल्ला सदस्य बुढाथोकीको निधनप्रति समवेदना ब्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको सचिव हुमागाईले जानकारी दिए । बुढाथोकीका दुई श्रीमती, ३ छोरा र ५ जना छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्