झापा, साउन ३२ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ । बाढीबाट एउटा विद्यालय, ३ वटा क्लिनिकसहित १४ वटा घरमा पूर्ण क्षति भएको हो ।


यस्तै ७ वटा घर उच्च जोखिममा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनले मानवीय क्षतिको विवरण नआएको बताइन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले पनि दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यहाँस्थित पालिकाहरुले पनि सूचना जारी गर्दै नदी किनारका वस्ती जोखिममा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको छ भने जोखिम क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताइन् । आज दिउँसो २ बजे बाढी आएको थियो ।

गृह मन्त्रालयले सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान खुम्बु पासाङल्यामु गाउँपालिका–५ थामेमा पर्छ । त्यसबाट आएको बाढी अहिले थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ ।

रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको बताए । ‘गृहमन्त्रीसँग कुराकानी भइसकेको छ । मैले कामु प्रधानसेनापतिज्यूलाई पनि विपद्बाट पार्ने जोखिमबाट बच्न, नागरिकलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्न र अरु भौतिक क्षति हुन नदिने उपाय अपनाउन सुरक्षाकर्मीहरुलाई परिचालन गर्न निर्देशन दिइसकेको छु,’ रक्षामन्त्री राईले भने, ‘अहिलेसम्म मानवीय क्षति भए÷नभएको यकिन विवरण आइसकेको छैन तर थामेको घटनास्थलमा बढी क्षति भएको आकलन गर्न सकिन्छ ।’
राईका अनुसार हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरु भौतिक संरचनामा क्षति पु¥याएको विवरण आइसकेको छैन । रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्