झापा,साउन ३२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेका कतिपय उपलब्धिमा यसअघि नै बनिसकेका पुल उद्घाटनदेखि बजेटमा राखिएको कार्यक्रम र संघीय सरकारले गरेका कामलाई पनि समावेश गरिएको छ ।
प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन पहिले सुरु भएर आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरूलाई पनि समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको मुख्यमन्त्री कार्कीले बताए । प्रदेशमा वर्ष २०८१ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्नेदेखि विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान गरेको विषयलाई पनि सय दिने उपलब्धि मानिएको छ ।
मुख्यमन्त्री कार्की गत वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारले गरेका कामहरू सही ढंगले जनतामाझ प्रचारप्रसार नभएकोले सयदिने उपलब्धि सार्वजनिक गर्नुपरेको उनले बताए ।

केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको मुख्यमन्त्री कार्कीले बताए । उनले सार्वजनिक गरेको एक सय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्णखोप प्रदेश घोषणा गरेको र धनकुटाको भेंडेटारमा निर्माण भएको स्काईवाक उदघाटन गरेर सञ्चालनमा ल्याएको लगायत छन् ।

यसैगरी मुख्यमन्त्री कार्यालयमा प्रदेशबासीको गुनासो सुन्न हेल्लो सीएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपदको सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ ।

यस्तै संखुवासभा र चीनसँग जोड्ने किमाथाङ्का नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटनरी उपचार केन्द्र सञ्चालन गराएको र विपदमा परेकाहरूलाई राहत तथा उद्धारमा सहयोग गरेको पनि उपलब्धिमा समावेश गरिएको छ ।

पाथिभरा, हलेंसी, बराहक्षेत्र धार्मिक क्षेत्र समिति, केचना कञ्चनजङ्गा पर्यटन समिति, संघीयता कार्यान्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेको लगायत पनि मुख्यमन्त्रीले उपलब्धिका रूपमा जनाएका छन् ।

यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्