शिवगञ्ज, साउन ३२ । शिवसताक्षी नगरपालिकाको ६ नं वडा कार्यालयले वडाका उद्यमी महिलालाई आत्मनिर्भर बनाउन सिलाई–कटाई मेसिन वितरण गरेको छ ।

वडाको सिलिङ बजेटबाट उद्यमी महिलाका लागि सिलाई कटाई (हेभी खुट्टे) मेसिन वितरण गरिएको वडा सदस्य नरेन्द्र बस्नेतले बताए । उनका अनुसार वडामा सिलाई कटाईको सीप भएर पनि बेरोजगार एवम उद्यमी बन्न चाहने महिलालाई आत्मनिर्भर बनाउनका लागि मेसिन प्रदान गरिएको हो । बिभिन्न कार्यक्रम ल्याएर एउटा समूहलाई ९ थान मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । सो समूहमा २१ जना महिला आवद्ध छन् । मेसिन पाएपछि वडाका महिला खुसी भएका छन् ।

वडाले ती महिलालाई पहिलो पटक १ लाख रुपैयाँ खर्च गरेर ९० दिनको सिलाई कटाईसम्बन्धी आधारभूत तहको तालिम प्रदान गरेको थियो । समूहकी कोषाध्यक्ष अनिता भट्टराईले भनिन् ‘त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय झापाको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा ९० दिनकै एड्भान्स तालिम लियौ ।’ कोषाध्यक्षका भट्टराईका अनुसार तेस्रो पटक २१ जनालाई वडाले पुनः सात दिने उद्यमशीलता तालिम प्रदान गरेपछि अहिले उद्यमी बनेका छन् ।

वडाको यो कार्यक्रमले महिलालाई व्यवसायिक रुपमा उद्यमी बन्न प्रेरित गरेको वडा सदस्य गोमा रिजालले बताइन् । ‘यो कार्यक्रम छोरी बुहारी लक्षित कार्यक्रम हो । सीप छ तर, उद्यम नहुने बुहारी र भोली विवाह गरेर घर जाने छोरीलाई पनि यो कार्यक्रमले व्यवसायिक बनाउँछ ’ उनको तर्क छ ।

वडाले दिएको यो कार्यक्रममा आवद्ध महिला सबै डिजाइनका कपडा सिलाउन सक्ने भएका छन् । स्थानीय शिवगञ्ज बजारमा बहालमा कोठा लिएर नियमित कपडा सिलाउने र अर्थोपार्जन गरिने समूहकी अध्यक्ष कविता बास्तोलाले बताइन् । ‘हामी पेन्ट, सर्ट, सुरुवाल, जामा, ब्लाउज, कुर्था, टप्स, लेङ्गालगायतका कपडा सिलाउन सक्ने भएका छौं ’ उनले भनिन् ।
आमा, दिदी, बहिनीलाई व्यावसायिक र आत्मनिर्भर बनाउन हस्तकला, सिलाई–कटाई, ब्युटिपार्लरलगायतका तालिम सञ्चालन गर्दै आएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले वडामा संचालन भएका हरेक कार्यक्रममा प्रत्यक्ष सहभागी हुन आग्रह गरेका छन् । अध्यक्ष खुलालले भने,‘ वडाले दिएको सीप, उद्यम र सिलाई–कटाई मेसिनको सदुपयोग गरेर आत्मनिर्भर बनिदिनुहोस् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्