झापा, भदौ १ । डेढ वर्षदेखि ओमनको अस्पतालमा अचेत रहेकी झापा मेचीनगरकी बिनादेवी कँवरलाई नेपाल ल्याइदिन उनका छोराले अपिल गरेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विरामी अवस्थामा रहेकी आफ्नी आमालाई नेपालसम्म ल्याउनका लागि आर्थिक सहयोग गरिदिन छोरा सञ्जय कँवरले पत्रकारहरूमार्फत अपिल गरेका हुन् । प्रेस क्लब मेचीनगरको हलमा पत्रकारहरूसमक्ष बोल्दै सञ्जयले आर्थिक र समन्वयात्मक सहयोग गरेर आमालाई नेपालसम्म ल्याइदिन आग्रह गरेका थिए । बिनादेवीे मेचीनगर–१० स्थित कँवर बस्तीका चिनीलाल कँवरकी श्रीमती हुन् ।

बिनादेवीका श्रीमान् चिनीलाल धुलाबारीमा सामान्य ज्यालादारी काम गर्छन् । जेठा छोरा सञ्जय मेचीनगर–७ स्थित राज टी इस्टेटमा मजदुरी गर्छन् । कान्छा छोरा सुरज काठमाडौँमा मूर्ति बनाउने काम गर्छन् भने छोरी अनिता कँवरको विवाह भइसकेको छ । ४५ वर्षीया बिनादेवी परिवारको आर्थिक अवस्था सुधार्न २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन गएकी थिइन् । २०७५ पुषतिर कुवेत उडेकी बिनादेवी १४ महिनापछि फर्किएकी थिइन् । भनिएजस्तो काम नभएर कुवेतबाट फर्किएको महिना दिन नबित्दै उनी पुनः खाडी मुलुक ओमन उडेकी थिइन् ।

लोपोन्मुख आदिवासी समुदायकी बिनादेवी विदेश जानुअघि मेचीनगर–७ स्थित राज टी इस्टेटमा चियापत्ती टिप्ने श्रमिक थिइन् । उनका पति कारखानामा काम गर्थे । कोभिड महामारीअघि जागिरबाट अवकाश पाउनेबित्तिकै उनी विदेश हानिएकी थिइन् । कुवेतमा भनेजस्तो काम नभएको भन्दै उनी घर फर्केकी थिइन् ।
पहिले कुवेत पठाउने दलालले नै बिनादेवीलाई ओमन उड्न पनि सहयोग गर्यो । घरेलु कामदारका रूपमा नेपाली महिलालाई खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएको छ । त्यसैले दलालले भारतीय बाटो प्रयोग गरेर नेपाली महिलालाई खाडी पुर्याउँछन् । बिनादेवी पनि पहिले कुवेत र पछि ओमन पनि भारतको बाटो हुँदै उडेकी थिइन् । तर ओमनमा उनी घर फर्किनै नसक्ने गरी थला परेकी छन् । उनी २०७९ माघ २३ देखि ओमनको एक अस्पतालमा जीवनमरणको दोसाँधमा छिन् ।

‘लडेको दिनदेखि आमाको अहिलेसम्म होस आएको छैन,’ सञ्जयले सुनाए, ‘आमा कुन अस्पतालमा कुन हालतमा हुनुहुन्छ, थाहा छैन ।’ उनले ओमनबाट आमालाई नेपाल ल्याउन पाए यतै हुने जति उपचार गर्ने बताए । बिनादेवीलाई घर ल्याउन १४ लाख बढी खर्च लाग्ने भएपछि सञ्जयले आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन् ।

‘दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएका छौँ । आर्थिक अवस्था कमजोर छ । यत्रो पैसा कहाँबाट ल्याउनु ? ’सञ्जयले भने,‘जस्तोसुकै अवस्था भएपनि जन्म दिने मेरी आमाको हेरचाह आफै र आफ्नै देशमा गर्छु । त्यसैले आमालाई विदेशबाट ल्याउन सबैसँग अनुरोध गरेको हुँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्