शिवगञ्ज, भदौ २ ।नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन जसले गर्न सक्यो ऊ पार्टीको असली नेता हुने बताएका छन् ।


नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा हालै निर्वाचित वडा कमिटीका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बोल्दै संविधानसभाका सदस्यसमेत रहेका एमाले नेता कार्कीले पार्टीको कुरा चिया दोकान, होटल या कुनै अनौपचारिक कार्यक्रममा एकले अर्कासंग नराख्न आग्रह गरे । उनले सम्बन्धित नेतृत्व वा व्यक्तिलाई आफ्नो समस्या वा गुनासोको बारेमा सिधा कुरा राख्न अनुरोध गरे । उनले भने, ‘जनप्रतिनिधि, नेतृत्व वा पार्टीभित्रका नेता कार्यकर्ताले एकले अर्कालाई आफूलाई परेको समस्या वा गुनासोको बारेमा सोझो कुरा गर्न सक्यो भने आन्तरिक द्वन्द्व स्वतः व्यवस्थापन हुन्छ ।’

नेतृत्व र पार्टी कार्यकर्ताबीच नङ र मासु जत्तिकै सुमधुर सम्बन्ध हुनुपर्ने एमाले नेता कार्कीले बताए । नेतृत्वको व्यवहार,रहनसहनले कार्यकर्ता वा पार्टीका संगठित सदस्यसँगको सम्बन्ध निर्क्योल गर्ने सकिने पनि उनले बताए ।

पार्टीले टिकट दिएर निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका नेतृत्वसँगको सम्बन्ध पनि सुमधुर राख्नुपर्ने उनको जिकिर थियो। ‘नेकपा एमालेमा मात्र होइन , सबै राजनीतिक दलको उद्देश्य जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध नङ र मासुको हुनुपर्छ,‘ नेता कार्कीले भने, ‘जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर रहन सकेन भने यसले पार्टीलाई गहिरो क्षति पुर्याउनेछ ।’

राजनीतिक सम्बन्ध वडादेखि केन्द्रसम्म सुमधुर हुन नसके ‘लाखेस तँलाई म चुनावमा देखाइदिन्छु ’भन्दा परिणाम नकारात्मक देखिने उनले बताए । यसले पार्टीलाई क्षति पुग्ने उनले बताए ।

पार्टीमा आन्तरिक द्वन्द्वका कारण निषेधको राजनीति हुने गरेको पनि उनले बताए। ‘तैले मलाई त्यहाँ सहयोग गरिनस् ।पखलास् तँलाई म आउने चुनावमा ठेगान लाउँछु ’ भन्ने दम्भले सम्बन्धित वडा, नगर, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टी सखाप हुने गरेको छ ,’ नेता कार्कीले भने, ‘कसैले सहिदियो भने दम्भ गर्नु हुन्न ।आउने निर्वाचनलाई त्यसले गम्भीर असर पार्छ ।’

केन्द्रीय सदस्य कार्कीले पार्टीभित्रको हरेक तहका नेता जनताका बीच लालगेडी हुनुपर्ने बताए । लालगेडी आँखामा हाल्दा जसरी बिझाउँदैन, त्यसरी नै जनता र कार्यकर्ताका बीच पनि नेतृत्व बिझाउन नहुने उनले सुझाव दिएका छन् । केन्द्रीय सदस्य कार्कीले संसदीय विभाग, मर्यादाक्रम, जनप्रतिनिधि र नेतृत्वबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै पार्टीका अर्का नेता राधाकृष्ण खनालले जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता थियो। पार्टीको वडा उपसचिव अम्बिका भण्डारीले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि नेकपा एमाले शिवसताक्षी नगर सचिव लक्ष्मीप्रसाद गुरागाईंले प्रकाश पारेका थिए।

पार्टीका वडा अध्यक्ष सुजन भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ४ का संयोजक धनबहादुर थेवे, पार्टी जिल्ला सचिवालय सदस्य सिकिन पासवान, जिल्ला सदस्य निशा लिम्बू, राष्ट्रिय युवा संघ झापाका संयोजक फुर्वा लामा, जिल्ला सदस्य कुलबहादुर बस्नेत, कमल लामिछाने, राजु श्रेष्ठ, गोमा रिजाललगायतको सहभागिता थियो ।

पार्टीका पूर्व वडा सचिव लक्ष्मीकान्त कर्णले स्वागत गरेको कार्यक्रम स्थानीय गुरागाईं सामुदायिक भवनमा भएको थियो। शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको स्थानीय नेतृत्व चयन भएपछिको यो पहिलो कार्यक्रम हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्