झापा, भदौ २ । देशका विभिन्न स्थानमा ८ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

यसक्रममा झापा बिर्तामोड नगरपालिका–५ सूर्योदय टोल सुकुम्बासी लाईन बस्ने ५५ वर्षीय राई माइला भनी चिनिने पुरुष आफ्नै घरभित्र मृत फेला परेका छन् । टीनको छानो र टीनको बेरा भएको घरमा सुतेका राई सुतेकै ठाउँमा शनिवार बिहान ११.४५ बजे मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनको मृत्युको कारण थाहा हुन सकेको छैन । मृतकको शवलाई पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइएको विष्टले जानकारी दिए । मृतक राईका श्रीमती र झड्केलो छोरा छोरी रहेका छन् ।

त्यस्तै कैलाली टीकापुर नगरपालिका–२ मिलन चोकस्थित बिष्टपाटी कुलोमा सोही नगरपालिका बिजयनगर बस्ने ३५ वर्षीया बालकुमारी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

गोरखा सिरानचोक गाउँपालिका–७ साढीमुरेस्थित कच्ची सडकमा सोही ठाउँ बस्ने ४३ वर्षीय पदमराज ढकाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१२ सिपाघाटस्थित इन्द्रावती खोलामा मेलम्ची नगरपालिका–८ किउरेनी बस्ने ५० वर्षीय काइला तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ दावीस्थित भोटेकोशी नदीको किनारमा सोही गाउँपालिका–३ जात्राथली बस्ने ५५ वर्षीय मानबहादुर बस्नेत शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा माडी गाउँपालिका–१ रिसम्जास्थित चिउरीघाट खोलाको किनारमा गंगादेव गाउँपालिका–२ बस्ने ६५ वर्षीया तुलसी कामी शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार बेलुकी गंगादेव गाउँपालिका–२ स्थित शुक्खाओडार खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

बारा कलैया उपमहानगरपालिका–२ स्थित दोहरी चौक सडक किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके नेपालगन्ज उपमहानगरपालिका–२ बागेश्वरी मन्दिरनजिकै रहेको नालाको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्