झापा, भदौ ३ । केही समस्यालाई समाधान गर्नसके झापामा पर्यटन व्यवसायको राम्रो संभावना रहेको सरोकारवालाहरुले बताएका छन् ।

होटल हिकोला हेरिटेज बिर्तामोडको १० औं वार्षिक उत्सवको अवसरमा आयोजित पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले पर्यटन क्षेत्रका विभिन्न समस्या र संभावनाहरु औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै चन्द्रगढी विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले चन्द्रगढी विमानस्थलमा आउने धेरैै पर्यटकहरुलाई झापामा होल्ड गराउनसके यहाँको पर्यटन व्यवसायमा सघाउ पुग्ने बताए । उनले चन्द्रगढी विमानस्थलका करिव २५ प्रतिशत पर्यटक मात्र झापामा अडिने गरेको जानकारी दिए । चन्द्रगढी विमानस्थलमा आउने पर्यटकहरुलाई यही अडिने वातावरण बनाउनका लागि त्यही किसिमको पर्यटन गन्तव्य र पूर्वाधारको आवश्यकता रहेको उनको भनाई छ । चन्द्रगढीबाट काठमाडौं उडान भइरहेकोमा अब बुद्ध एयरले चन्द्रगढी– सिक्किम उडान भर्ने तयारी गरिरहेको जानकारी दिए । ‘ बुद्ध एयरले चन्द्रगढी– सिक्किम पोलिसी ल्याएको छ ’ उनले भने ,‘ आवश्यक मापदण्ड पूरा गरेको खण्डमा स्वीकृति प्रदान हुनेछ ।’ पर्यटक भित्र्याउने चन्द्रगढी विमानस्थलमा यथेष्ट पूर्वाधार नरहेको उनले बताए । भवन , धावन मार्गजस्ता पूर्वाधारको विकास क्रमागत रुपमा हुँदै गएको उनले बताए । धावन मार्गको लागि डीपीआर बनिसकेको तर कार्यान्वयमा आइनसकेको उनको भनाई थियो ।

त्यस्तै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले भर्खरै भारतले तेस्रो राष्ट्रका नागरिकका लागि नाका खुल्ला गरेसंगै पूर्वी नेपालमा पर्यटन फस्टाउने विश्वास व्यक्त गरे । नाका खुल्ला भएसंगै तेस्रो राष्ट्रका पर्यटकहरुको आवागमन बृद्धि भएको उनले जानकारी दिए । बंगलादेश आन्दोलनकै बेला भारतले नाका खोलिदिँदा केही आशंकासमेत उव्जाएको उनको भनाई थियो । उनले कोशी प्रदेश सरकारले २०८२ लाई भ्रमण वर्ष मनाउने निर्णय गरी त्यसको तयारीस्वरुप विभिन्न गतिविधिहरु भइरहेको जानकारी दिए ।

कार्यक्रममा होटल हिकोलाका संचालक देवीभक्त श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि संचालित होटल व्यवसायमा आइपरेका समस्याका बारेमा बताएका थिए । २०७४ भदौ ४ गते स्थापना भएको होटल हिकोलाले दिइरहेको सेवा सुविधा र आइपरेका कठिनाईका बारेमा उनले जानकारी गराएका थिए । होटलकै अर्का संचालक गौरव श्रेष्ठले पनि आफ्ना अनुभव सुनाएका थिए । विनोद खनालले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको संचालन संचारकर्मी सुब्रत न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्