झापा, भदौ ४ ।झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।


आज साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए ।

स्थानीय वडा नं ८ शिवालय टोलको यो घटना श्रीमान श्रीमतीबीच आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

मृतकका ससुरा केही महिनादेखि बिरामी थिए। उनलाई उपचारका लागि परिवारमा आर्थिक संकट थियो । स्थानीय छिमेकीका अनुसार अधिकारी परिवार उपचार खर्च तत्काल जोहो गर्न सक्ने अवस्थाका होइनन् ।
बुबा छविलाल अधिकारीलाई उपचारका लागि मंगलबार बिहान बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लैजाने तरखर छोराले गरे । अस्पताल त लैजाने , बुबाको उपचार पनि गर्ने तर खर्चको व्यवस्थाले ओमप्रसाद अधिकारीलाई निकै सतायो ।

छिमेकीले दिएको २० हजार जति लिएर उनले बुवा छविलाललाई उपचारका लागि बिएण्डसी अस्पताल लगे। उनको उपचारमा चेकअप गर्ने जति सबै गरियो । चेकअप गरिएका सबै रिपोर्टहरू बुधवार बेलुकासम्ममा मात्र प्राप्त हुने भनेपछि बाबु छोरा घर आए ।

छोरा ओमप्रकाशले बाबुलाई भाइ नाता पर्नेको घरमा राखे। र, आफू घर गए । घर पुगेको केही समयपछि श्रीमती रञ्जनाले श्रीमान ओमप्रकाशलाई सोधिन् ‘खोइ त बुवा ?’ उनले भने ’बुवा भाइको घरमा बस्नुभयो।’
अनि उपचार खर्च कसरी जुटाउनुभयो त ? ओमप्रकाशले जे थियो त्यही बताइदिए। छिमेकीसँग मागेको सापटी रुपैयाँ लगेर बुवाको उपचारका लागि खर्च गरेको कुरा श्रीमती रन्जनालाई सुनाए ।
रन्जना श्रीमानसँग रिसाउँदै भनिन् ,‘अंश पनि अहिलेसम्म दिएको छैन । ऋण खोजेर उपचार गर्नुपर्छ । अब यो ऋण कसले तिर्छ ?’ छोराले भने ‘बुवा निको भएपछि तिरिहाल्नुहुन्छ नि ।’

श्रीमान श्रीमतीको यसैमा केहीबेर विवाद चल्यो । त्यही विवादले अप्रिय घटना घटायो । घटनाका प्रत्यक्षदर्शीसमेत रहेका मृतकका १२ वर्षीय छोरा गौरवले प्रतिदिनसँग भने, ‘पहिला बाबाले एक मुक्का हान्नुभयो। त्यसपछि मम्मीले पनि एक थप्पड हान्नुभो । अनि बाबाले तँलाई काटेर मारिदिन्छु भन्नुभयो । मम्मीभित्र पसेर खुर्पा लिएर आउनुभयो र ‘लु मार’ भन्दै बाबाका हातमा दिनुभयो । रिसले चुर हुनुभएका बाबाले मम्मीलाई खुर्पा प्रहार गर्नुभयो र भुइँमा लडाउन भयो । भुइँमा ढलेकी ममीलाई फेरि बाबाले खुर्पाले काट्नुभयो । र रक्ताम्य बनाउनुभयो ।

अधिकारी परिवारको अंश सम्बन्धीको विवाद केही वर्षदेखि चुलिँदै आएको थियो। पटकपटक गाउँलेले बसेर समाधान गर्ने प्रयास गरेका थिए । तर दीर्घकालीन समाधान हुन सकेन । अघिल्लो दिन समाजका अगाडि हुन्छ भनेको कुरा भोलिपल्ट छविलालले हुँदैन भन्ने गरेका थिए । यसै कारणले परिवारमा कलह सुरु भएको स्थानीयबासी बताउँछन्।

मृतकका १२ वर्षीय छोरा गौरव संस्कृत विद्यालयमा पढ्ने विद्यार्थी हुन्। घरको आर्थिक अवस्था नाजुक भएका कारण उनले बीचमै पढाइ छोड्नुपर्यो। उनीहरुका पाँच वर्षकी छोरी इन्दिरा पनि रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्